-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सेयर ब्रोकरहरुको संख्या ५० वटा रहेको छ । 

नेपालमा सेयर ब्रोकरहरुले नेप्सेमा सूचीकृत कम्पनीका सेयर खरिदबिक्रीमा एजेन्टका रुपमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सहयोग गरिरहेका हुन्छन् । 

यसै भीडमा यो साताको ब्रोकर वाचमा हामीले ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज प्रा.लि.लाई छानेका छौं । 

भिजन सेक्युरिटिजको केन्द्रीय कार्यालय काठमाण्डौं २९ स्थित अनामनगर मार्फा हाउसमा रहेको छ । जसको शाखा कार्यालय बनेपास्थित चार दोबाटो चोकमा समेत रहेको कम्पनीले जनाएको छ ।

हिजो भर्खरै धितोपत्र बोर्डबाट रुपन्देहीको भैरहवामा समेत थप ब्रोकर शाखा  सञ्चालनका लागि स्वीकृति पाएको छ । कम्पनीको अधिकृत  तथा चुक्तापूँजी ५ करोड रहेको छ । कम्पनीले धितोपत्र दलाल व्यवसायी, डीपी सेवा, राफसाफ सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । 

भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्षका रुपमा राजकुमार तिमिल्सिना कार्यरत छन् । सिन्धुपाल्चोक बाँडे गाउँ स्थायी निवासी तिमिल्सिना हाल काठमाण्डौं बुढानीलकण्ठ १० का बासिन्दा हुन् । एमबीएस र एलएलबीसम्मको अध्ययन गरेका उनले नेशनल लाइफ इन्स्योरेन्स, आरएमडीसी लघुवित्तमा बोर्ड डाइरेक्टरको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

लगानीकर्ताहरुको हकहितका लागि खोलिएको संगठन नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष समेत रहेका तिमिल्सिना स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष पदका प्रतिस्पर्धी समेत थिए ।

 

हाल उनले  ३ वर्षदेखि सञ्चालन गर्दै आएको ब्रोकर हाउसमा काठमाण्डौं र बनेपामा गरी २२ जना कर्मचारी कार्यरत रहेका छन् । 

भर्खरै अनलाइन प्रणाली आइसकेपछि थप शाखा विस्तार गर्ने सिलसिलामा उपत्यका र उपत्यका बाहिर ११ शहरका १६ वटा स्थानका लागि उनले बोर्डमा आवेदन दिएको जानकारी दिए ।

उनको कार्यालयबाट दैनिक औसत ५० जना  र ३ वटा संस्थागत लगानीकर्ताहरुले सेयर कारोबार गर्ने गरेका दाबी गरेका तिमिल्सिनाका अनुसार बजार तेजी हुँदा २ सय ५० जना र साधारण अवस्थामा ७५ जनाको उपस्थिति रहने गरेको बताए ।

गत वर्ष टप वान भएको दाबी गर्ने उनले टप ३ ब्रोकरका रुपमा बजारमा आफ्नो कम्पनी रहेको दाबी समेत पेश गरे ।

कारोबार भोल्यूमका आधारमा लिडिङ्ग ब्रोकरको परिचय रहेको भिजनको बलियो पक्ष भनेकै असल सञ्चालक भएको उनले तर्क राखे । 

हिजोका दिनमा पूँजी बजारका लागि विभिन्न पदमा बसेर गरेको काम र राष्ट्र बैंक तथा अर्थमन्त्रालका विभिन्न बैठकहरुमा बसेर गरेको सहकार्य र पब्लिक रिलेशन अनि लगानीकर्ताहरुलाई दिएको सुविधाहरु नै आफ्नो महत्वपूर्ण बलियो पक्ष भएको तिमिल्सिनाको भनाई छ ।

कलेज पढ्दापढ्दैदेखि सेयर बजारमा जोडिन पुगेका उनी पूँजी बजारको विकास र विस्तारका काम गर्दागर्दै झुकाव भएकै कारण  कम्पनी टेकओभर गरेर ब्रोकर सेवा सञ्चालन गर्ने वातावरण तथा अफर आएको र त्यसलाई पक्रेर आफू सेयर ब्रोकरको रुपमा बजारमा प्रवेश गरेको बिजशालालाई बताए ।

कारोबारका आधारमा अग्रपंक्ति र ग्राहकलाई सकेसम्मको सुविधा दिलाउँदै विश्वास आर्जन गर्न पाएकोमा दङ्ग तिमिल्सिनाले नियामकको ऐन नियमभित्र रहेर लगानीकर्ताले चाहेको बेला अर्डर कार्यान्वयन, समावेशी बस्ने स्थान, चियापानको व्यवस्था, समावेशी कारोबार विन्डो लगायतका सुविधा दिइरहेको दाबी समेत गरे ।

ब्रोकरहरुलाई पोर्टफोलियो व्यवस्थापन, एडभाइजरी, बुक बिल्डिङ्गका आधारमा आइपीओ र एफपीओको व्यवस्थापन, ब्रोकर डिलर लगायतको कार्यक्षेत्र विकास र विस्तार गरिदिए आफूहरुले अब्बल भूमिका निर्वाह गर्ने उनको भनाई छ । आगामी यी सेवा प्रवाहका लागि समेत ब्रोकरले अवसर पाउने उनको आशा छ ।

आफूकहाँ ठूला तथा संस्थागत लगानीकर्ताहरु भएकै कारणले भनेकै समयमा सेयर खरिदबिक्री गर्न सहज हुने र टर्नओभरमा समेत अप्सन रहेको उनको भनाई छ ।

नियामकबाट अन्तर्राष्ट्रिय स्तरको ब्रोकरेज सेवाको विकास र विस्तार गर्ने अपेक्षा र आशावादी बनेका तिमिल्सिनाका अनुसार पूँजीबजारको भूमिका कुनै पनि राष्ट्रका लागि अभिन्न अंग हुनेछ ।

पूँजी बजारलाई उत्पादनशील क्षेत्रको पनि उत्पादक क्षेत्रका रुपमा राज्यले बुझ्नपर्ने उनको सुझाव छ । पूँजी निर्माण गर्ने उपयुक्त ठाउँ भएको पूँजी बजारलाई राष्ट्रिय पूँजी निर्माणको माध्यमको रुपमा विकास गरिनुपर्ने तिमिल्सिनाको धारणा छ । 

नियामकहरुबाट स्थापनाकालदेखि नै कार्वाही र ब्रोकर आउटको समस्या झेल्नु नपरेको उनी दाबी गर्छन् । यो नै भिजनको सकारात्मक पाटोका रुपमा लिइएको उनको भनाइ छ ।

पूँजी बजारको सदुपयोग गर्दै विभिन्न देशहरुले आर्थिक छलाङ मारेको उदाहरण बुझेका उनले नेपालमा पनि सम्बद्ध पक्ष नजागेसम्म आर्थिक विकास हुन नसक्ने ठान्छन् । सम्बद्ध निकायले पूँजीबजारलाई प्राथमिकता नदिएसम्म समृद्धिको युगतर्फ अग्रसर हुन नसकिने उनको ठहर छ । 

क्रस बोर्डर ट्रेडिङ्ग, क्रस बोर्डर लिष्टिङ्ग, एनआरएनको लगानी, बैदेशिक लगानी पूँजी बजारमा भए पूँजी बजारको विकास र विस्तार हुनसक्ने उनी ठान्छन् ।

तरलताको अभाव छिचोल्दै बैदेशिक लगानी भित्र्याउने, अनलाइन प्रणालीको पूर्ण कार्यान्वयन लगायतका चूनौती देखेका तिमिल्सिना सेयर जत्ति पनि टुक्र्याएर बेच्न मिल्ने सहज ढंगले र एनीटाइम क्यास बिजनेस, सेयर धितो कर्जा लिन सकिने सुविधा भएकाले पूँजी बजारमा धेरै अवसर देख्छन् ।

हालको नेप्से इन्डेक्सको गिरावट बारेमा बुझ्ने प्रयास गर्दा सेयर संख्यामा बढोत्तरी, तर खरिद चाप बढाउने मेकानिजम बन्न नसक्नु नै माग तथा आपूर्तिमा आएको असन्तुलनको कारक रहेको र यसैले बजारमा चमक आउन नसकेको दाबी गरे ।

लगानीकर्ताका आँखामा भिजन सेक्युरिटिज

विष्णु खरेल(लगानीकर्ता)-घट्टेकुलो
सेवा सुविधा चित्तबुझ्दो र राम्रो छ । खुशीसाथ चियापान र बस्नलाई राम्रो वातावरण समेत रहेको छ । मार्जिन लेण्डिङ्गको सुविधा भिजनबाट नै चाँडै पाउन पाए सहज हुन्थ्यो । सान्दर्भिक न्यूज तथा जानकारी पाएमा अझ राम्रो हुन्थ्यो । समय–समयमा विज्ञबाट तालिम तथा गोष्ठी सञ्चालन हुने आशा गर्दछौं । अनलाइन सिस्टमले राम्रोसँग काम पनि गरोस् भन्न चाहन्छु ।

पुरुषोत्तम सापकोटा(व्यापारी)-बुद्धनगर
समग्र रुपमा अरु ब्रोकरकहाँभन्दा भिजनमा राम्रो सुविधा छ । अरु खासै चाहना र माग छैन ।