काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने म्याद थप गरिएको छ। यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने भने आज असोज २ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले पहिलो चरणमा गत भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने आवेदन दिने म्याद असोज १७ गतेसम्म थप गरिएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख २५ हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सेयर बिक्री खुला गरिएको छ। 

त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको छ। 

यो आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले आवेदन दिन पाउनेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १९  हजार १२० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले माछापुच्छ्रे गाउँपालिकामा रहेको सेती नदी जलविद्युत आयोजनास्थल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्सको माछापुच्छ्रे गाउँपालिकाको भुजुङखोला शाखाबाट आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्। 

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।