 
                     
                                
                             
                                    काठमाण्डौ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्ने प्रक्रिया सुरु भएकै बेला सो कम्पनीको सेयर गैरकानूनी रुपमा लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी सुरु गरेको छ ।
अर्थ मन्त्रालयले एक उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा गठन गरेको छानबिन तथा सुझाव समितिले सर्वोत्तम सिमेन्टको सेयर गैरकानूनी ढंगले खरीद गरेको(गोल्डेन सेयरको रुपमा लिएको) प्रकरणमा बोर्ड अध्यक्ष ढुंगानालाई दोषी देखाएसँगै सरकारले उनलाई बर्खास्त गर्ने तयारी थालेको हो ।
यही तयारी स्वरुप सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालयको प्रस्तावमा बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार बर्खास्त गर्ने पूर्व तयारी स्वरुप उनलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । धितोपत्र ऐनमै भएको व्यवस्था अनुसार धितोपत्र बोर्डको अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि सरकारले सफाई पेश गर्ने अवसर दिनुपर्ने व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार उनलाई अन्तिम पटक स्पष्टीकरण सोध्न लागिएको हो ।
'उनले दिने स्पष्टीकरण चित्तबुझ्दो हुने कुरै भएन, कारण उनले गरेका काम गैरकानूनी पुष्टि भइसकेका छन्, उनी दोषी प्रमाणित भइसकेका छन् ।' अर्थस्थित स्रोतले भन्यो-'ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्नका लागि मात्र स्पष्टीकरण सोध्ने निर्णय भएको हो । यो भनेको उनलाई बर्खास्त गर्ने तयारी थालिएको रुपमा बुझ्दा हुन्छ ।'
ढुंगानाले अमेरिकामा रहेकी आफ्नी छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङको प्रक्रियाबाट आइपीओ निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरीद गरी नैतिकहीन र गैरकानूनी काम गरेका विषय बाहिरिएसँगै यसमाथि छानबिन भएको थियो । अर्थ मन्त्रालयले उनलाई निलम्बन गरी छानबिनलाई अगाडि बढाएको थियो । छोरी रेविकाको नाममा सेयर खरीद गरेको भनिए पनि बुक बिल्डिङमा निश्कासनकर्ता कम्पनीसँग मिलेर बढी प्रिमियम मूल्य कायम गराइदिने शर्तमा उनले गोल्डेन सेयरको रुपमा ती सेयर लिएको समेत छानबिनको क्रममा देखिएको स्रोतले बताएको छ ।
सर्वोत्तम सिमेन्टले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्न खोजेको थियो । उसले प्रतिकित्ता मूल्य ७५० प्रस्ताव गरेको थियो । प्रतिकित्ता ७५० रुपैयाँ मूल्य पर्ने यो कम्पनीको सेयर ढुंगानाले छोरीको नाममा ओटिसी मार्केटबाट प्रतिकित्ता २५० रुपैयाँको दरले ११ हजार कित्ताभन्दा बढी खरीद गरेका भेटिएको थियो ।
यही प्रकरणमा मुछिएका सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिइसकेका छन् । उनले पनि पदको दुरुपयोग गर्दै आफ्नी पत्नीको नाममा २५० रुपैयाँको दरले सर्वोत्तम सिमेन्टको सेयर खरीद गरेका भेटिएको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19