काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् ।

साथै उनले अब राहत र पुनरस्थापनको काम पनि समय तालिका बनाएर गर्ने सोच रहेको बताए । आइतबार जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्दार, राहत र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका अनुसार अबको तीन दिन राहतका निम्ति अधिकतम काम गर्न पहल गरिनेछ । राहतको काम प्रभावकारी बनाएपछि पुनरस्थापना प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आवश्यक कानून बनाउने र संरचना सुधार गर्ने पनि बताए ।उनले पुनर्निर्माण शुरु गर्नुअघि भूगोल अवस्थाको अध्ययन गरेर एकीकृत बस्ती निर्माणको योजना बनाउने  बताए ।

त्यस क्षेत्रमा गएको भूकम्पका कारण कुल कति क्षति भयो भन्ने बारे यकिन जानकारी प्राप्त हुन सकेको छैन । उता जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले शनिबारदेखि नै काम भने थालेको छ ।

यसका लागि स्थानीय तहहरुसँग समन्वय गरी विवरण संकलन गरिने छ ।अहिले राहत र उद्दारको काम चलिरहेको र त्यसपछि क्षतिको तथ्यांक संकलन गरिने छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने कयौं घरहरु भत्किएका छन् ।