काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी भदौ १८ गतेदेखि २ लाख ९१ हजार ४ सय ९० कित्ता सेयर लिलामीमा राख्ने भएको छ । 

कम्पनीले संस्थापक समूहतर्फको २ लाख ६ हजार २ सय २७ कित्ता र सर्वसाधारण समूहतर्फको ८५ हजार २ सय ६३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । 

भदौ १८ गतेदेखि खुल्ने लिलामीका लागि भदौ २५ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

यो कम्पनीले असार १७ देखि साउन २० गतेसम्म हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा आफ्ना सेयरधनीले खरीद नगरेको सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो । 

इच्छुकले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँको बोल लगाउनुपर्नेछ । सेयर खरीदका लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फका लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

आरएसडिसी लघुवित्तको लिलामी प्रक्रियामा एनआइबिएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुकले बिक्रीप्रबन्धकको काठमाण्डौस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुङ्गा, बुटवलको ट्राफिक चौक, वीरगञ्जको आदर्शनगर र विराटनगरको गोल्छा चौकमा गएर दरखास्त दिन सक्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीस्थित शाखा कार्यालय, आरएसडिसी लघुवित्तको बुटवल १० कालिकानगरस्थित कार्यालयबाट समेत दरखास्त दिन सक्नेछन् ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य ४८५ रुपैयाँ रहेको छ ।