काठमाण्डौ । आज सोमबारदेखि सेयर बजार ५ दिनका लागि बन्द हुने भएको छ । 

धितोपत्र बोर्डको आइतबार साँझ बसेको बोर्ड बैठकले कोरोना भाइरसको संक्रमणको उच्च संभावनाको अवस्थालाई मध्यनजर गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई प्राथमिकतामा राखेर दोश्रो बजारमा हुने नयाँ कारोबार आज सोमबारदेखि ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्तर्गत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था कार्यान्वयन गर्दै यस्तो निर्णय गरेको हो । 

उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडसँग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र  कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले समेत यस्तो निर्णयमा पुग्नुपरेको हो । 

बोर्डले आइतबार नै नेप्सेलाई बजार बन्द गर्न आदेश दिइसकेको समेत बताइएको छ । 

यस्तै, बोर्डले आइतबार भएको सेयर कारोबार रद्ध नहुने र नियमानुसार नै राफसाफ र फछ्र्यौट हुने समेत निर्णय गरेको छ । 

आइतबार अपरान्हसम्म पनि धितोपत्र बोर्ड बजार बन्द गराउने विषयमा अन्यौलमा थियो । स्रोतका अनुसार अर्थमन्त्रालयले समेत ग्रीन सिग्नल दिएपछि बोर्डले ५ दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।