काठमाण्डौ । दुग्ध विकास संस्थाले दूधको मूल्य शनिबारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । यसअघि ७० रुपैयाँ प्रतिलिटर रहेको दूध किन्न अब उपभोक्ताले ७६ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।

गत बिहीबार कृषि तथा पशुपन्छी मन्त्रालयले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन संस्थानलाई पत्राचार गरेको थियो । सोहीबमोजिम संस्थाले शनिबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको छ ।

सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न करिब डेढ महिनाअघि दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दूधको मूल्य बढाउन सिफारिस प्रतिवेदन सरकारलाई बुझाएको हो ।

दूधको मूल्य समायोजनसँगै अब बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४.१६ रुपैयाँ किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १.८४ रुपैयाँ व्यवसायीले पाउनेछन् । 

यसअघि केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले मूल्य बढाउन दबाब दिँदै आएका थिए । उनीहरुले प्रतिलिटर १० रुपैयाँसम्म बढाउन माग गरेका थिए । उनीहरुले भदौ १ गतदेखि नै मूल्य नबढाएर चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।