काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर भोलि सोमबारट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यो कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ।

यो कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता गरी कुल ४० लाख ७७ हजार ५५ कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीको सेयरलाई न्यूनतम रु. ११८.८४ र अधिकतम ३५६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि भोलि स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयमा कारोबार खुल्नेछ। नेप्सेले यो कम्पनीलाई ‘आरयूआरयू’ कारोबार संकेत प्रदान गरेको छ। 

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ३ गते गरिएको थियो।