काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्दैछ। 

कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमध्ये जारीपुँजीको ०।५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्।

यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २५ गते हुनेछ। तोकिएको समयमा मागबमोजिम आवेदन नपरेको खण्डमा मात्रै यो आईपीओको निष्कासन बन्द ढिलोमा फागुन ६ गते बैंकिङ समयपश्चात हुनेछ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ। 

कास्कीको पोखरा सिमचौरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी १६ करोड रुपैयाँ र रिजर्भमा ३९ करोड ३७ लाख रुपैयाँ रहेको छ। अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार ७१ करोड ४० लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ। 
आव २०८०/८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११२.८७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ७४.३२ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ८७.३३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। 

त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४९३.६२ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ २९७.४२ रुपैयाँ र आव २०७९/८० मा ३८३.०१.८३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। 

संस्थाले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १८ करोड ५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा ११ करोड ८९ लाख रुपैयाँ र आउँदो आवमा १३ करोड ९७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। 

अबको ३ वर्ष अर्थात आव २०८०/८१ लगानीको प्रतिफल २.४५ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ। चालु आवमा यस्तो प्रतिफल २.२४ प्रतिशत र आगामी आवमा २.२२ प्रतिशत रहने संस्थाको अनुमान छ। 

आव २०८०/८१ सम्म निष्क्रिय कर्जा दर (एनपीएल) ०.६० प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ। चालु आवमा एनपीएल २.३० प्रतिशत र आगामी आवमा १.२४ प्रतिशत रहने संस्थाको अनुमान छ।

हाल संस्थाले २४ जिल्लाहरुमा ८७ वटा शाखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुमगन कार्यालय र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ।