काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि फागुन ४ गतेबाट आईपीओ निष्कासन गर्दैछ। 

संस्थाले जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गते बैंकिङ समयपछि हुने भनिएको छ। 

राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। 

समीक्षा अवधिमा संस्थाको खुद नाफामा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद ब्याज आम्दानीमा ५७ प्रतिशतलगायत अधिकांश सूचकमा प्रगति हासिल गरेको छ। खराब कर्जा (एनपीएल) करिब ५९ प्रतिशत घट्न गई १.०३ प्रतिशतमा सीमित राख्न संस्था सफल भएको छ। जुन लघुवित्त वित्तीय संस्थाहरुमध्येकै कम हो। 

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाले हालसम्मको सञ्चित मुनाफा र चालु आवको बाँकी ६ महिनामा आर्जन गर्ने मुनाफाबाट आगामी वर्ष सेयरधनीहरुलाई करिब ५० प्रतिशतभन्दा बढी लाभांश सजिलै बाँड्न सक्ने देखिन्छ। 

यसका साथै प्रकाशित आह्वानपत्रबमोजिम संस्थाको आब २०७८/७९ मा खुद मुनाफा करिब रु. ८ करोड ५ लाख, आव २०७९/८० मा रु. १९ करोड ७३ लाख र आव २०८०/८१ मा रु २७ करोड ५ लाख हुने प्रक्षेपण गरिएको छ। सोही अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) क्रमशः रु. ३०.९८, रु. ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने देखिएको छ।