काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि फागुन ११ गतेबाट आईपीओ निष्कासन गर्दैछ। 

संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। 

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुने भनिएको छ। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

पर्वतको कुस्मास्थित न्युरोडमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी ३३ करोड १५ रुपैयाँ र रिजर्भमा ५९ करोड ४४ लाख रुपैयाँ रहेको छ। अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०÷८१ मा रिजर्भको आकार बढेर १ अर्ब १९ करोड रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ। 

आव २०८०÷८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३२.८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८÷७९ मा ईपीएस १०२.९९ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९÷८० मा १२३.८१ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। 

त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४०७.५९ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ ३६३.८१ रुपैयाँ र आव २०७९/८० मा ३९० रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। 

संस्थाले आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५९ करोड ४३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा २६ करोड २६ लाख रुपैयाँ र आउँदो आवमा ४१ करोड ४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। 

यसैगरी संस्थाले आर्थिक वर्ष २०८०/८१ मा खुद ब्याज आम्दानी १ अर्ब १२ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको यस्तो आम्दानी ५० करोड ७० लाख रुपैयाँ र आउँदो आवमा ७७ करोड ३४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। 

संस्थाले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन मुनाफा ९२ करोड ७७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको यस्तो मुनाफा ४० करोड ६५ लाख रुपैयाँ र आउँदो आवमा ६३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। 

आव २०८०/८१ सम्म निष्क्रिय कर्जा दर (एनपीएल) १.९४ प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ। चालु आवमा एनपीएल ४.२७ प्रतिशत र आगामी आवमा २.७८ प्रतिशत रहने संस्थाको अनुमान छ।

हाल संस्थाले ५६ वटा शाखा कार्यालयहरुबाट ७८ हजार ५४ सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ।