काठमाण्डौ । सेयर बजारको कमिसनमा भ्याट लाग्ने र भ्याट रकमको रुपमा १३ प्रतिशत खरीद र बिक्रीमा अतिरिक्त लगानी आफैंले गर्नुपर्ने हल्लाका कारण साताको पहिलो कारोबार दिन आइतबार २२ अंकले बजार घटेको छ । घट्दो बजारलाई थप घटाउन भ्याटको हाउगुजीले काम गरेको हो । 

नेप्से परिसूचक २१.९९ अंकले घटेर १५४१.८२ अंकमा झरेको हो । होटल र अन्य समूह झिनो अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैकिंग समूह २२.८७ अंकले घटेको छ भने बिमा समूहमा १२९.६६ अंकको गिरावट देखिएको छ । यस्तै, विकास बैंक, जलविद्युत, बित्त र उत्पादनमूलक समूह क्रमशः ३०.२१, २५.४२, ६.५२ र २०.६८ अंकले घटे । होटल समूहमा ०.३३ अंकले बढ्यो भने अन्य समूहमा २.६१ अंकको बढोत्तरी देखियो । 

'क' वर्गको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.७३ अंकले घट्यो भने समग्र कारोबार समेत खस्किएका कारण फ्लोट इण्डेक्समा १.६८ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ४८ कम्पनीका ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयर ५६ करोड ७७ लाख १६ हजार ५ सय ९८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ६ लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ३२ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ३ करोड, नेपाल टेलिकमले २ करोड ५७ लाख, एभरेष्ट इन्स्योरेन्सले १ करोड ९६ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थानमा वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत, एक स्थान विकास बैंक र बाँकी एक स्थान अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
आइतबार पोखरा फाइनान्सले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । हिमालयन जनरल इन्स्योरेन्सले ४ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति मूल्य बढायो । 

एभरेष्ट बैंकको कन्भर्टेड प्रिफरेन्स सेयरको मूल्यमा पहिरो गयो । यो सेयरको मूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो । यस्तै, कन्काई विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयर, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशत भन्द्या बढीको दरले घट्यो ।