google photo
-सानिया निश्तार
इस्लामाबाद (रासस/प्रोजेक्ट सिन्डकेट)। विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । चिकित्सकलाई देखाउँदा लाग्ने खर्च तिर्नु, चिकित्सा सेवा प्राप्त गर्नु, परिवार नियोजनका सल्लाह खोज्नु, वा सामान्य रोगविरुद्ध खोप लिनु पनि धेरै व्यक्तिलाई स्वस्थ्य रहनु वा गरिबीमा धसिनुबीचको छनौट बनेको छ । गरिब जनताका लागि स्वास्थ्य सेवाको विकल्पलाई हाल पहिले भन्दा झनै बढी परिचित शत्रुले कमजोर बनाइरहेको छ ।
भ्रष्टाचार, अपर्याप्त खर्च र खेर गएका स्रोत धेरै कम वा मध्य आय भएका मुलुकका स्वास्थ्य सेवा प्रणालीमा निरन्तर चुनौतीका रूपमा रहेका छन् । स्वास्थ्य सेवा प्राप्त गर्न जनता निकै तल्लो हदसम्म जान बाध्य भएको मैले पाकिस्तानमा हुर्कदा देखेकी छु । उदाहरणका लागि स्वास्थ्य सेवाका लागि निकै महङ्गो खर्च तिर्न परिवार गाइवस्तु तथा अन्य मूल्यवान वस्तु बेच्न बाध्य हुनसक्छन् ।
स्वास्थ्यसम्बन्धी गरिबीले आज पनि पीडितको ज्यान लिइरहेको अभिशाप स्तब्धकारी छ । केही मुलुकमा स्वास्थ्य सेवाको उच्च लागतका कारण जनता गरिबीमा धसिरहनु हरेक दिनको वास्तविकता बनेको छ ।
परिवारले स्वास्थ्य सेवाको बिल तिर्न पैसा नपाएसम्म महिला तथा उनीहरूका नवजात शिशुलाई अस्पतालले महिनौसम्म पनि बन्धकमा राख्ने गरेको डरलाग्दो कथा अफ्रिकाको हालैको भ्रमणमा सुनेँ । भ्रष्टाचार, अनावश्यक खर्च तथा खर्चको अनैतिक लागतका कारण बिरामी तथा स्वास्थ्य प्रणालीलाई वार्षिक रूपमा अरबौँ डलर घाटा गराएको क्यालिफोर्निया विश्वविद्यालय, सान डियागोले गरेको अनुसन्धानमा फेला परेको छ । अमेरिकामा स्वास्थ्य सेवाका लागि सार्वजनिक क्षेत्रले गरेको १० प्रतिशत खर्च जालसाजयुक्त बिलमा गुम्ने गरेको र करोडौँ जनताले स्वास्थ्य सेवा प्राप्त गर्न कठिन आर्थिक बाधा भोग्नुपरेको देखिएको छ ।
स्पष्ट रूपमा, सुधारिएको स्वास्थ्य सेवाका लागि सरकारले खर्च वृद्धि गर्नुपर्छ र यसका लागि महत्वपूर्ण स्रोतलाई स्वास्थ्य प्रणालीबाट बाहिर लैजाने गैरकानुनी अभ्यासलाई रोक्नुपर्छ । तर कसरी ?
विश्वभर धेरै स्वास्थ्य सेवा प्रणालीमा भ्रष्टाचार तथा मिलेमतो संस्थागत बनेको छ । स्वास्थ्य सेवामा खर्च गरिएको ६५०० अर्ब अमेरिकी डलरमध्ये ४५५ अर्ब अमेरिकी डलर गुमेको, दुरूपयोग भएको वा चोरी भएको देखिएको छ । साधारण भाषामा भन्दा धेरै धनीहरूले आफ्नो खल्ती भर्दा विश्वका गरिब जनताको स्वास्थ्य लागत टाट पल्टिएको छ ।
तिर्न सकिने, गुणस्तरीय स्वास्थ्य सेवा आधारभूत मानव अधिकार हो भन्ने कुरामा मतैक्यता बढिरहेको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकासको लक्ष्यमा विश्वव्यापी स्वास्थ्य सेवा लक्ष्यको रूपमा समावेश भएको छ । धनी मुलुकले मात्र यो लक्ष्यलाई स्वीकार गरेको होइन, थाइल्यान्डदेखि कोस्टारिका तथा रुवान्डासम्मका मिश्रित स्वास्थ्य सेवा तथा सीमित स्रोत भएका मुलुकले पनि उनीहरूको कोष तथा राजनीतिक पूँजी विश्वव्यापी स्वास्थ्य सेवालाई वास्तविकतामा परिणत गर्न लगाएका छन् ।
यी मुलुकलाई सहयोग गर्न पाइला लिइएको छ । गत वर्ष जापानले विश्वव्यापी स्वास्थ्य सेवा प्राप्त गर्न विकासशील मुलुकलाई सहयोग गर्न २.९ अर्ब अमेरिकी डलर उपलब्ध गराउने बचन दिएको छ । विश्व बैङ्कले पनि मुलुकले आफूसँग लिने ऋणको क्षमतालाई स्वास्थ्यमा खर्चका साथै मानव पूँजीमा लगानी गर्ने कुरासँग जोड्न सकिने सङ्केत दिएको छ ।
यस्ता सङ्केत प्रशंसायोग्य र आउन बाँकी नै भए पनि गुणस्तरीय स्वास्थ्य सेवाका बाधा हटाउन पर्याप्त छैनन् । भ्रटाचार, चोरी, अनावश्यक तथा अप्रभावकारी खर्चलाई बढी जोडदार रूपमा सम्बोधन नगरिएसम्म विश्वव्यापी स्वास्थ्य सेवा आकाँक्षाको रूपमा मात्रै रहनेछ ।
भाग्यको रूपमा सरकारहरू भ्रष्टाचारको सङ्कटलाई समाधान गर्न बढ्दो रूपमा बचनबद्ध हुँदैछन् । कर छलाई तथा जालसाँज दुबै अपराध हुन र कानुन पालना गराउने संस्थाहरूबाट त्यसमा नजिकबाट जाँच हुन थालेको छ । कर छलाईले मुद्रा निर्मलीकरण गर्ने मात्र होइन यसबाट सार्वजनिक क्षेत्रको महत्वपूर्ण स्रोतमा डकैती हुन्छ । गैरकानुनी वित्तीय प्रभाव कम गर्ने कुरालाई संयुक्त राष्ट्र सङ्घले दिगो विकासका लक्ष्य प्राप्त गर्ने एक प्रमुख भाग बनाउनुको एक कारण यो पनि हो ।
स्वास्थ्य क्षेत्रका भ्रष्टाचार नियन्त्रण गर्ने बृहत् सहमतिका साथ प्रभावकारी नियन्त्रण विधि विकास गर्नु कठिन चुनौती देखिनेछ । राष्ट्रिय कोष सञ्चालक, अर्थ मन्त्रालय तथा भ्रष्टाचार नियन्त्रण संस्थाहरूले निवारणका कार्यमा सहयोग गर्न आफ्ना प्रयासलाई बलियो बनाउनुपर्छ । वित्तीय क्षेत्रमा पारदर्शीपनामा सुधार गर्दा भ्रष्टाचार नियन्त्रणलाई सहयोग पुग्नसक्छ । सरकार तथा स्वास्थ्य सेवा प्रदाकलाई बढी जिम्मेवार बनाउन नागरिक समाजका समूह, पत्रकार तथा विरामीले धक्का दिनै पर्छ ।
भविष्यमा ‘डाटा माइनिङ’, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ तथा ‘ब्लकचेन’ जस्ता नयाँ प्रविधिले स्वास्थ्य क्षेत्रमा नराम्रा काम पत्ता लागाउन नयाँ उपाय दिनेछन् र यी तथा यस्ता औजारमा पूर्णतया अनुसन्धान हुनुपर्छ ।
स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्नु तथा यस क्षेत्रको वित्तलाई संरक्षण गर्नु अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने दुई चुनौती हुन् । यी क्षेत्रमा ढिला नगरी काम गर्नु अत्यावश्यक छ । अर्बुद, मधुमेह, मुटु र नसासम्बन्धी रोग जस्ता नसर्ने रोगका दर गुणात्मक रूप बढिरहेका छन् र गुणस्तरीय सेवामा पहुँचको अभावले धेरै मुलुकका सरकारलाई चुनौती थप्नेछ ।
कमजोर स्वास्थ्य गरिबीको सूचकका साथै गरिबी निबारणमा बाधा हो भन्ने कुरा विकास रणनीतिकर्ताले राम्रोसँग बुझेका छन् । आज करिब ८० करोड जनता आफ्नो घरेलु बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा खर्च गर्छन् र उनीहरूलाई आवश्यक पर्ने उपचारका लागि खर्च जुटाउन प्रायः उनीहरू ऋण लिन्छन् । धेरै जनता चिकित्सककहाँ सल्लाहका लागि जान सक्दैनन् भन्ने सत्य वास्तवमै लज्जाजनक कुरा हो । विश्वलाई विश्वव्यापी स्वास्थ्य सेवा आवश्यक पर्छ, यो कुरा प्राप्त गर्न विश्वको स्वास्थ्य क्षेत्रले आफ्नै उपचार गराउनु आवश्यक छ ।
(सानिया निश्तार विश्व स्वास्थ्य सङ्गठनको नसर्ने रोगको स्वतन्त्र उच्चस्तरीय अयोगका सह–अध्यक्ष हुनुहुन्छ । उहाँ पाकिस्तानका पूर्व सङ्घीय मन्त्री तथा हार्टफाइल नामक संस्थाका संस्थापक हुनुहुन्छ ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago