काठमाण्डौ । कमजोर र विवादास्पद व्यवस्थापनले संचालन गर्न लागेको म्युचुअल फण्ड ‘सिटिजन्स म्युचुअल फण्ड’लाई लगानीकर्ताले पहिलो चरणमा पत्याएनन् । म्युचुअल फण्ड संचालन गर्ने कम्पनी सीबीआइएल क्यापिटलको नेतृत्वकर्ता विवादास्पद छविका रहेका र उनीहरुसँग म्युचुअल फण्ड संचालनको राम्रो  ज्ञान समेत नभएपछि लगानीकर्ताले उत्साहप्रद ढंगले इकाई खरीदका लागि आवेदन दिएनन् । फलस्वरुप यो म्युचुअल फण्डले पर्याप्त आवेदन नपरेको भन्दै आवेदन दिने समयावधि बढाउनुपरेको छ ।

जानकारहरुअनुसार हालसम्म नेपालमा संचालित म्युचुअल फण्डहरुको इकाई पहिलो चरणमै सबै बिक्री नभएको यो दुर्लभ घटना होे । 

क्यापिटलले माघ २ गतेदेखि १० रुपैयाँ दरका १० करोड इकाईहरुको बिक्री खुलाएको थियो । यो फण्डका इकाईमा छिटोमा माघ ८ गतेसम्म आवेदन दिनुपर्ने भनिएको छ भने ढिलोमा माघ १७ गतेसम्म दिंदा समेत हुने बताइएको  छ । पहिलो चरणका लागि छिटोमा माघ ८ गतेभित्र मागअनुसार आवेदन नपर्ने देखिएको भन्दै क्यापिटलले एकदिनअघि नै आवेदन दिने समय थप गरिएको बताएको छ । 

स्रोतका अनुसार यो कम्पनीको म्युचुअल फण्डको अवस्था सुरुवातदेखि नै खराब रहँदै आयो । सँगै निश्कासित एनआइसी एशिया ग्रोथ स्किमप्रति सर्वसाधारण लगानीकर्ताको राम्रो रेसपोन्स हुँदा सिटिजन्समा भने सन्नाटा छाए झै भएको थियो । माघ  २ गतेदेखि नै सिटिजन्स म्युचुअल फण्डमा निकै कम आवेदन परेपछि व्यवस्थापनको नेतृत्व गर्नेहरु अत्तालिए । बिजशालामा यो बिषयमा समाचार प्रकाशित भएकै दिन सिटिजन्सका व्यवस्थापकले भ्रामक तथ्यांकसहितको सूचना सम्प्रेषण गरी उल्लेख्य आवेदन परिरहेको दाबी गरेका थिए । तेश्रो दिन १२ बजेसम्म २७ करोडको आवेदन परेको भ्रम छरिएको थियो, यथार्थमा सो अवधिसम्म यो फण्डमा १७ करोडको मात्र आवेदन परेको थियो । 

आफ्नो कमजोरी र लाजमर्दो अवस्थालाई ढाकछोप गर्न भ्रमको साहारा लिन खोजिए पनि पहिलो चरणको आवेदनको अन्तिम दिनको अघिल्लो दिन नै समय थप गर्नुले सिटिजन्सको म्युचुअल फण्डमा निकै कम आवेदन परेको अन्ततः पुष्टि भएको छ ।

आवेदन दिन समय थप गरिरहँदा समेत सीबीआइएल क्यापिटलका अधिकारीहरुले ११ हजार आवेदकबाट ५० करोड बराबरको मात्र आवेदन परेको बताएका छन् । तर, यो तथ्यांक समेत सही नभएको सिटिजन्सभित्रकै स्रोतले दाबी गरेको छ । ‘आइतबारसम्म साच्चिकै ५० करोडको आवेदन परेको थियो भने सोमबारसम्म सबै इकाई बिक्री हुनसक्थ्यो ।’ ती कर्मचारीले भने–‘नेतृत्वले फेरि भ्रम छर्न खोजेको हो, संस्थागत लगानीकर्ताले समेत त्यति धेरै रेसपोन्स नगरेपछि सीइओ समीर दाहाल लगायत अत्तालिएका छन् ।  उनीहरु ठूला लगानीकर्ता गुहार्दै हिँडिरहेका छन् ।’ 

उता, सिटिजन्स म्युचुअल फण्डको इकाईमा कम आवेदन परेर व्यवस्थापन तनावमा भइरहेका बेला एनआइसी एशिया ग्रोथ स्किमको प्रवद्र्धन गरिरहेको एनआइसी एशिया क्यापिटलका अधिकारी भने उत्साहित छन् । ‘आइतबारसम्मको तथ्यांक हेर्दा सर्वसाधारणहरुले हालसम्मकै राम्रो रेसपोन्स गरेको पाएका  छौ ।’ एनआइसी एशिया  क्यापिटलका एक अधिकारीले भने–‘अन्तिम  दिन ठूला लगानीकर्ताबाट समेत हाम्रो फण्डका लागि राम्रो माग भएकोले फण्डको आकार  बढेर १ अर्ब २५ करोडसम्म पुग्ने संभावना बढेको छ ।’ ती अधिकारीको दाबीलाई आधार मान्ने हो भने नेपालमा निश्कासित म्युचुअल फण्डको इकाईमा सर्वसाधारणहरुको तर्फबाट एनआइसी एशियामा जस्तो राम्रो रेसपोन्स सायद अरुमा भएको थिएन ।