सांकेतिक तस्वीर ।
काठमाण्डौ । बजारको सुस्त गतिमा अझै अपेक्षित सुधार हुन सकेको छैन।
बजेटले सेयर बजारका लागि गरेका राम्रो व्यवस्थाहरुको विषयमा समेत भ्रम फैलाइएका कारण लगानीकर्तामा द्विविधाको अवस्था देखिएको छ ।
सुखद कुराहरुलाई समेत तोडमोड गरी नकारात्मक सन्देश फैलाउन खोज्ने केही लेखक, हरेक सकारात्मक पाटोलाई समेत नकारात्मक नजरले हेर्ने स्तम्भकार र मिडियाहरुका कारण बजार सुधारका लागि बजेटले राम्रै खालका अजेण्डा ल्याउँदा समेत लगानीकर्ताको मनोबल गिराउने काम भएको सेयर लगानीकर्ताका एक नेताले दाबी गरे । ती नेताले यस्ता गिरोहहरुको दुष्प्रचारप्रति सचेत भई बुद्धिमतापूर्वक खरीदबिक्रीको निर्णय लिन समेत लगानीकर्तालाई आग्रह गरेका छन् ।
सरकारले बजेटमार्फत सेयर खरीदबिक्रीमा लाग्ने पूँजीगत लाभकरको दर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाएको थियो । एनआरएनएलाई पूँजीबजारमा ल्याउने विषय बजेटले नै समेटी सेयर बजारको तीव्र सुधार, आधुनिकीकरणका लागि समेत बजेटले ऐतिहासिक अजेण्डाहरु समेटेको छ । तर, बिडम्बना पूँजीबजारका लागि ऐतिहासिक भनिएको बजेटकै कारण बुम हुने अपेक्षा गरिएको बजार उल्टो गतिमा कुदिरहेको छ । यसमा ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम होइन, सरकारले झुक्यायो भन्ने खालका टिप्पणी गरी भ्रम फैलाउने काम भइरहेको लगानीकर्ताका नेताहरु दाबी गर्छन ।
‘ब्रोकरहरु समेत बढ्ने बजार निरन्तर घटिरहेकोमा आश्चर्यचकित छन् ।’ स्टक ब्रोकर एशोसिएसनका एक पदाधिकारीले नाम नबताउने शर्तमा भने–‘बजार बढ्न नदिने सुनियोजित गिरोह सक्रिय छ । यो गिरोहले बजेटले गरेका राम्रा व्यवस्थाको विषयमा समेत भरपूर भ्रम फैलाइरहेको छ । राम्रोलाई ‘राम्रो’ भन्न नसक्ने मानसिकताबाट ग्रसितहरुको तीव्र प्रचारबाजीका कारण लगानीकर्ताको मनोबल खस्किरहेको छ, यसैको प्रतिबिम्ब बजारमा देखिएको छ ।’
केही विश्लेषकहरुले भने लगानीकर्ताहरु मौद्रिक नीतिको पर्खाईमा बसेकाले समेत बजारमा अपेक्षित सुधार हुन नसकेको दाबी गर्छन । 'बजेटले गरेको राम्रो व्यवस्थालाई मौद्रिक नीतिले कसरी प्रस्तुत गर्छ, यसलाई कुरेर बस्ने लगानीकर्ता पनि देखिएका छन् ।' ती विश्लेषकले भने-'बजारमा क्रिएट गरिएको द्विविधाको उपचार लगानीकर्ताले मौद्रिक नीतिबाट खोजेका छन् । त्यहाँबाट प्रष्ट कुरा आएपछि बजार बुम हुन्छ ।'
के-के भयो मंगलबार ?
मंगलबार नेप्से परिसूचक ३.५६ अंकले घटेर १२८९.२८ को विन्दूमा समेटिन पुग्यो । यो दिन ७१ करोड बढीको कारोबार भयो ।
अघिल्लो दिन राताम्मे भएको बजारमा यो दिन केही सुधार समेत देखिएको छ । राम्रा र बलिया कम्पनीमा बिक्री चाप रहे पनि अघिल्लो दिनको तुलनामा चाप घटेका कारण सेन्सेटिभ इण्डेक्स ०.६२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२५ अंकको गिरावट देखियो ।
यो दिन ४ समूहको परिसूचक बढेको छ । होटल समूह ३२.६७ अंकले बढ्यो भने विकास बैंक समूह २.४९ अंक, उत्पादन तथा प्रशोधन समूह ४१.०२ अंक र बित्त समूह ०.४ अंकले बढे ।
यो दिन बैंकिङ समूह २.८७ अंकले घट्यो भने ट्रेडिङ समूह २.५३ अंक, जलविद्युत समूह ७.७९ अंक, निर्जीवन बिमा समूह ५५.०३ अंक, जीवन बिमा समूह २५.९५ अंक, माइक्रोफाइनान्स समूह १२.४ अंक, म्युचुअल फण्ड समूह ०.०२ अंक र अन्य समूह ५.०२ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका २२ लाख ५२ हजार ५४६ कित्ता सेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी शिवम सिमेन्टले १२ करोड १३ लाख बढीको कारोबार गर्यो ।
यस्तै, प्रभू बैंकले ९ करोड ३३ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले ४ करोड ८७ लाख, तारागाउँ रिजेन्सी होटलले २ करोड ३८ लाख, कैलाश विकास बैंकले २ करोड १६ लाख, कृषि विकास बैंकले २ करोड २ लाख, अपर तामाकोशीले १ करोड ९४ लाख, एनसीसी बैंकले १ करोड ६९ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ५४ लाख र एनआइसी एशियाले १ करोड ४२ लाख बढीको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा तारागाउँ रिजेन्सी होटल र गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले धेरै कमाए । दुवै कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
जोशी हाइड्रोपावर कम्पनी र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः ६.३८ र ६.०८ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago