काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ। 

आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो १ः३० बजे राखिएको छ। 

यो कम्पनीले गत चैत १९ गतेदेखि चैत २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम साँझसम्म यो आईपीओमा १३ लाख २५ हजार ८४७ आवेदकबाट १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता माग भएको छ। जुन मागभन्दा ११.०३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३३ हजार ७३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा करिब १२ लाख आवेदकको हात खाली हुने देखिन्छ।