काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ पहिलो दिनै साढे २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले आज चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझसम्म यो आईपीओमा ३ लाख १५ हजार ६३२ आवेदकबाट ३५ लाख ४५ हजार ३०० कित्ता माग भएको छ। जुन मागभन्दा २.६५ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३३ हजार ७३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ। 

यसअघि यो कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ।