काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्ने आज चैत २२ गते (बुधबार) अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। 

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सीडीएससीका अनुसार हिजो मंगलबार साँझसम्म यो आईपीओमा १० लाख २९ हजार ४९४ आवेदकबाट १ करोड १५ लाख ३६ हजार ८६० कित्ता माग भएको छ। जुन मागभन्दा ८.६३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३३ हजार ७३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।