काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज निष्कासनको अन्तिम दिन (चैत २२ गते)सम्म ११ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यो कम्पनीले गत चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ साढे ५ सम्म यो आईपीओमा १३ लाख २५ हजार ८४७ आवेदकबाट १ करोड ४७ लाख ३५ हजार ५३० कित्ता माग भएको छ। जुन मागभन्दा ११.०३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ३३ हजार ७३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।