काठमाण्डौ । ठूलो चाडपर्व, जात्रा र उत्सव मनाउने ठाउँमा जथाभावी थुके १ महिनासम्म जेल सजाय हुनसक्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्व तथा जात्रा मनाउनका लागि मापदण्ड जारी गर्दै पर्व मनाउने क्रममा मठमन्दिर तथा कार्यक्रम आयोजनास्थलहरुमा जथाभावी थुक्ने र जनस्वास्थ्यको मापदण्ड अनुसार नगर्नेहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने प्रष्ट पारेको हो ।
संक्रामक रोग ऐन तथा यसअन्तर्गत दिइएको आदेश नमान्ने व्यक्तिमाथि १ महिनासम्म कैद वा रु. १०० जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्व तथा उत्सव मनाउने स्थलहरुमा जथाभावी थुक्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्नेहरुलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने प्रष्ट पारेका छन् ।
उनले चाडपर्व, जात्रा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड समेत तयार गरी जारी गरिएको बताएका छन् ।
व्यक्तिगत तहमा लागू हुने अत्यावश्यक र अनिवार्य मापदण्डहरुमा सबै किसिसमका चाडपर्व, जात्रा र उत्सव मनाउँदा एउटै घरपरिवारमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने, चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने, जानैपर्ने भए मास्क लगाउने, चाडपर्व र जात्रा उत्सव मनाउने कार्यक्रमस्थलमा अनिवार्य रुपमा साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने रहेका छन् ।
यस्तै, धार्मिकस्थलमा हुने कार्यक्रममा २५ जना मात्र भेला हुने व्यवस्था गर्ने, अभिभावदन गर्दा टाढैबाट गर्ने, जिउ छुने वा अँगालो मार्ने काम नगर्ने, देवीदेवताको मूर्ति वा पूजा सामाग्री भरसक नछुने, यस्ता ठाउँहरुमा जाँदा नाकमुख नछुने, खोक्दा वा हाछ्यूँ गर्दा टिस्यू पेपरले मुख छोप्ने, कुहिनाले छोप्ने, सार्वजनिक स्थानमा नथुक्ने, सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्ने लगायतका मापदण्ड समेत जारी गरिएको छ ।
यसैगरी, उच्च जोखिम समूहमा पर्ने व्यक्तिले घरपरिवारबाहेकका बाहिरका व्यक्ति सहभागी कार्यक्रममा सहभागी नहुन समेत मन्त्रालयले आह्वान गरेको छ । ज्वरो, श्वासप्रश्वास वा खोकीका समस्या भएका, ६० वर्ष बढी उमेरका व्यक्ति, १२ वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, दम, रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्ति, हालसालै सर्जरी गरेका व्यक्ति उच्च जोखिम समूहमा पर्छन् ।
चाडपर्वको बेला धार्मिक कार्यक्रम आयोजना गर्दा आयोजकहरुले पालना गर्नुपर्ने विषय पनि स्वास्थ्य मन्त्रालयले तय गरिदिएको छ । त्यस्ता मापदण्डहरुमा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्य सुरक्षाका लागि तालिमप्राप्त कर्मचारी र स्वयम्सेवकको व्यवस्था गर्ने, हात धुने पानी तथा स्यानिटाइजरको पर्याप्त व्यवस्था गर्ने, कार्यक्रमस्थललाई दैनिक २ पटक निसंक्रमण गर्ने, धेरै सम्पर्कमा आउने सतहहरु जस्तै रेलिंग, बार, देवीदेवता मूर्तिहरु समय समयमा सफा गर्ने, व्यक्तिहरुबीचको सम्पर्क कम गर्न कार्यक्रमको अवधि सकेसम्म छोटो राख्ने, कार्यक्रमस्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिडका विषयमा पोस्टर, पम्प्लेट अनिवार्य रुपमा टाँस्ने, प्रवेशविन्दूमा थर्मोमिटरले तापक्रम जाँच्ने, १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराउने, स्थानीय तहमा रहेका स्थानीय प्रशासन, स्वास्थ्य लगायतका निकायसँग समन्वय गरी मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने, फोहोर फाल्नलाई बिर्को भएका डस्टबिनको व्यवस्था गर्ने र फोहोरको सुरक्षित विसर्जन गर्ने, कार्यक्रमस्थलमा ध्रुमपान, मध्यपान र सूर्ती पानमा कडा प्रतिबन्ध लगाउने लगायतका बुँदाहरु रहेका छन् ।
यस्तै, सकेसम्म प्रसादी तथा टिका वितरण नगर्ने, गर्नैपर्ने भए स्वस्थ व्यक्तिले प्याकेटमा राखेर गर्ने, २ मिटरको दुरीमा मात्रै यस्तो काम गर्ने मापदण्ड समेत मन्त्रालयले जारी गरेको छ ।
मन्त्रालयले भीड कम गर्ने उपायहरु समेत सुझाएको छन् । जसअन्तर्गत सहभागीको संख्या घटाउन रणनीतिक पहिचान गरी कार्यान्वयन गर्ने, प्रत्येक परिवारबाट १ जना मात्र सदस्य उपस्थित गराउने, प्रसाद तथा फदफूल केही व्यक्तिले गएर घरमै बाँड्ने व्यवस्था गर्ने, नदी र तलाउमा समूहमा नुहाउनका साटो वैकल्पिक व्यवस्था गर्ने, संभव भएसम्म एकाघरका सदस्य मात्र बसी चाँडबाड मनाउने रहेका छन् ।
मन्त्रालयले काठमाण्डौमा पछिल्लो समय तीव्र गतिमा संक्रमण फैलिइरहेकोले किरानपसल, तरकारी पसल, ठेला चलाउने व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउन भनेको छ । यस्तै, वडा कार्यालय र क्लबहरुले पनि जनचेतना बढाउन माइकिंग गर्न सुझाएको छ।
बैंकहरुमा प्राइमरि कन्ट्याक्टका व्यक्तिहरुको टेस्ट नभएको गुनासो आएको उल्लेख गर्दै प्रवक्ता डा. गौतमले यसका लागि राष्टबैंकलाई व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
यस्तै, विभिन्न संसदीय समिति, अदालत वा सरकारी कार्याल्यमा सकेसम्म कुनै पनि बैठक, तालिम वा गोष्ठी नराख्न पनि आह्वान गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago