काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा जानकारी दिन आज राति ७ः५० बजेका लागि पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। 

अधिकांश स्थानमा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था आयोगले गरेको थियो। 

साँझ ५ बजेदेखि मतदान सकिए पनि मतदानस्थलभित्र पसेकाहरुले भने मत खसाल्न पाउने आयोगले जनाएको छ। केही स्थानमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगको दाबी छ। 

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदातालाई आयोगले मतदानका लागि योग्य रहेको जनाएको थियो। आयोगले कुल मतदातामध्ये ७० प्रतिशतले मतदान गर्ने विश्वास लिएको छ। यद्यपि आयोगले कति मत खस्यो भन्नेबारेमा खुलाएको छैन।

सरोकारवालाहरुले भने आशा गरिएबमोजिम मत खस्न नसकेको जिकिर गरेका छन्। यसपालि निर्वाचनमा मतदाता सोचेजति उत्साहित नदेखिएको उनीहरुको ठहर छ।