काठमाण्डौ । गृह मन्त्रालयले विभिन्न निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक गरिएकोले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। 

गृह मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो। पत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखदेखि काठमाण्डौ उपत्यकाभित्र अन्य जिल्लाबाट यात्रुबस आउन दिइएको छैन। काठमाण्डौ उपत्यकाभित्र भने सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन्। तर विभिन्न शैक्षिक संस्था र आयोगहरुले परीक्षाका कार्यक्रम सार्वजनिक गरेकोले परीक्षार्थीको आवागमनलाई सहज पार्न मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई निर्देशन दिएको हो। 

साउन ४ गतेको मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयनको जिम्म गृह मन्त्रालयले दिइएको छ।