– प्रकाश न्यौपाने

काठमाण्डौ । कुनै बेला नेपालको सेयर बजारमा प्राथमिक सेयरमा लगानीकर्ताले मागेजति नै सेयर पाउँथे। अहिले अवस्था बदलिएको छ। आईपीओ भर्दा १० कित्ता सेयर पाउन पनि भाग्यले साथ दिनुपर्छ। 

अहिले लगानीकर्ताको संख्या पनि बढ्नुले निकै कमले मात्रै आईपीओमा सेयर पाउने गरेका छन्। जसका कारण लामो समयदेखि आईपीओ लगानीमा गरेर लाखौँ कमाउने पुराना लगानीकर्ता अहिले दोस्रो बजारमा बढी सक्रिय हुन थालेका छन्। 

पछिल्लो समय नयाँ लगानीकर्ताको उल्लेखनीय रुपमा सेयर बजारमा उपस्थिति देखिनु लगानीकर्ता र सरकार दुवैलाई आम्दानीको राम्रो स्रोत बन्दै गएको छ। 

पुराना लगानीकर्ता दोस्रो बजारमा आकर्षित हुँदै जाँदा बजारमा कारोबार बढ्दै गएको थियो। करोडको कारोबार हुने बजारमा लगानीकर्ता बढ्दै गएपछि गत वर्ष भदौमा २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। पछिल्लो समय बजार घट्दै जाँदा कारोबार पनि घटेको छ।

आईपीओबाटै कुस्त कमाउने योजना बनाएका गोरखा घर बताउने सुरेन्द्र गुरुङ (नाम परिवर्तन) यतिबेला तनावमा छन्। ‘मैले २०५७ सालदेखि मेरो परिवारका सदस्यहरुसँगै दाजु–भाइका परिवार, दिदी–बहिनीका परिवारका सदस्यको नाममा पनि आईपीओ भर्थें’, उनले भने, ‘त्यतिबेलादेखि आईपीओमा गरेको लगानी अहिले उठाउने कसरी भन्ने चिन्ता बढेको छ।’

त्यतिबेला आईपीओ भर्दा टाठाबाठा लगानीकर्ताहरुले अरुका नागरिकता संकलन गर्थे। त्यतिबेला अनलाइन प्रणालीबाट आईपीओ भर्ने व्यवस्था थिएन। तर, पछिल्लो समय अनलाइन प्रणालीबाट आईपीओ भर्नुपर्ने भएपछि एकाघरबाहेक अन्य व्यक्तिका नाममा आईपीओ भर्न बन्देज गरिएको छ। यसो गरिएको खण्डमा कानुनी दण्डसजायको पनि व्यवस्था गरिएको छ। 

गुरुङले पनि त्यतिबेला अरुका नाममा आईपीओ भरेर लाखौँ रुपैयाँ लगानी गरेका थिए। ‘अहिले मसँग आईपीओ परेको प्रमाणपत्रमात्रै छ’, निराश हुँदै उनले भने, ‘तर, जसको नाममा मैले आईपीओ भरेँ, धेरैजसो विदेशमा छन्। उनीहरुलाई मैले आईपीओ भरिदिएको थाहा छैन। अहिले नियामक निकाय कठोर बन्दा र अनलाइन प्रणालीको विकास हुँदा मेरो लाखौँ रकम डुब्ने अवस्था सिर्जना भएको छ।’

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले भौतिक सेयरलाई आ–आफ्नो  नाममा डिम्याट खाता खोलेर अभौतिक बनाएर कारोबार गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था गुरुङले आईपीओबाटै धेरै कमाउने लोभमा गरेको लगानी गैरकानुनी त भएको छ। योसँगै उनले गरेको लगानी पनि अब डुब्ने अवस्था बनेको छ।

हाल गुरुङ बजारमा अन्य नाममा आईपीओ नभर्न सल्लाह दिँदै हिँड्न थालेका छन्।  

गुरुङकै जस्तो अर्का लगानीकर्ता महेश खत्री (नाम परिवर्तन)को अन्य व्यक्तिका नाममा आईपीओमा गरेको लगानी डुब्ने लगभग पक्का भएको छ। उनले पनि आफ्ना परिवारका सदस्यसँगै आफूले चिनेजाने अन्य व्यक्तिको नाममा थुप्रै कम्पनीको आईपीओमा लगानी गरेका छन्।

यतिबेला खत्रीमा उक्त लगानी कसरी उठाउने भन्ने चिन्ता बढेको छ। ‘२०७२ सालभन्दा अगाडिका भौतिक प्रमाणपत्र भएका सेयरहरु धितोपत्र बोर्डले सजिलैसँग जो–जसले सेयर भरे निजकै नाममा नामसारी गरी अभौतिकीकरण गर्न दिनुपर्छ’, उनले भने, ‘सामान्य नागरिकले उज्ज्वल भविष्यको अभिलाशा बोकेर गरेको लगानी सरकारी प्राबधानका कारण डुब्ने खतरा भएको छ।’

गुरुङ र खत्री त उदाहरणका पात्रमात्र हुन्। २०७२ सालअघि थुप्रै बाठा लगानीकर्ताले अरुको नाममा आईपीओ भरेर मनग्य कमाएका थिए। अरुका नाममा आईपीओ भर्न नपाउने प्रावधान कडाइका साथ लागू हुन लागेको थाहा पाएपछि टाठाबाठ लगानीकर्ताहरुले बेलैमा अरुका नाममा भरेको आईपीओ आफ्नो नाममा ल्याउन सफल भए। तर, अझै थुप्रै त्यस्ता लगानीकर्ताहरु भने पुर्पुरोमा हात राखेर बस्न बाध्य भएका छन्। 

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्य अर्काको नाम सेयर भर्नु अपराध हुने बताउँछन्। ‘यसरी अरुको नाममा सेयर परेको प्रमाणसहित उजुर परे कानुनी कारबाही हुन्छ’, उनले भने, ‘जसको नाममा सेयर छ, स्वयं ती व्यक्ति आफैँ उपस्थित भएर प्रक्रिया पूरा गरी आफ्नो नाममा ल्याउन सक्छन्।’