काठमाण्डौ । मनास्लु विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २ : १ अनुपातमा(५० प्रतिशत)को दरले हकप्रद सेयर दिने भएको छ । 

यही योजना अनुसार घोषित सेयरका लागि आगामी साउन २३ गतेदेखि आवेदन खुल्ला गरिएको बैंकले एक सूचना जारी गरी जनाएको छ । 

बैंकको सूचना अनुसार साउन २३ गतेदेखि ३५ दिनका लागि हकप्रदमा आवेदन दिनसक्ने समय दिइएको छ । यसको अर्थ साउन २३ देखि भदौ २६ गतेसम्मको अवधिमा यो बैंकका सेयरधनीले ५० प्रतिशत हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

मनास्लु विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख १७ हजार ६ सय ४९ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

आफ्नो नाममा मनास्लुको सेयर रहेका र बुक क्लोजरको साउन ६ को मिति भन्दा अगाडि यो संस्थाको सेयर खरीद गरी आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

यो संस्थाको हकप्रदको बिक्री प्रबन्धक प्रभू क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीहरुले हकप्रदका लागि बबरमहलस्थित प्रभू क्यापिटलको मुख्य कार्यालय र गोरखा विकास बैंकका सबै शाखा कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् । 

घोषित हकप्रदको व्यवस्थापनपछि मनास्लुको चुक्तापूँजी २७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । हाल यसको चुक्तापूँजी १८ करोड ३५ लाख रहेको छ । यो बैंकको अधिकृत पूँजी ३० करोड रहेको छ । यो संस्थामा साधारण संस्थापक सेयर स्वामित्व अनुपात ५१ः ४९ रहेको छ । 

इक्रा नेपालले यो संस्थाको हकप्रद सेयरलाई ‘ग्रेड ४ प्लस’को रेटिङ प्रदान गरेको छ । 

जुलाई १८ को मितिमा यसको अन्तिम सेयर मूल्य ५५५ रुपैयाँ रहेको छ ।