काठमाण्डौ । आपूर्तिमन्त्री गणेशबहादुर पुन नेतृत्वको अनुगमन टोलीले शुक्रबार बिहानैदेखि राजधानीको मुख्य माछामासु पसल रहेको क्षेत्रमा अनुगमन गरिरहेको छ ।

सो क्रममा सतुंगलको मोजमिल सेन्टर नामको बधशालामा कुहिएको मासु र किराको थुप्रो फेला परेको छ । मन्त्री निकट स्रोतका अनुसार अनुगमन भएको पहिलो ठाउँमै कुहिएको मासु र किराको थुप्रो फेला परेको हो । ‘किराको थुप्रो लागेको कुहिएको मासु नै उपभोक्तालाई बिक्री गरेको पाइयो ।’ अनुगमनमा सहभागी एक पत्रकारले भने–‘यो बधशालाबाट राजधानीका विभिन्न क्षेत्रमा मासुहरु आपूर्ति हुँदो रहेछ ।’ 

सो मासु पसलमा प्रयोग भएको ढकतराजू समेत मापदण्ड विपरीतका रहेका पाइएको छ । एककेजी मासु तौलदा २५० ग्राम कम दिइने गरिएको समेत फेला परेको छ । 

हदैसम्मको लापरबाही र उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको पाइएपछि सो बधशाला सेन्टरका संचालकलाई कुहिएको मासु ३ घण्टाभित्र फाल्न र ३ दिनभित्रमा अवस्थामा सुधार गरेर मापदण्डभित्र आउन कडा निर्देशन दिइएको छ । ‘सो समयभित्रमा पनि सो बधशाला मापदण्डभित्र आएन भने ताला लगाउने मन्त्रीले चेतावनी दिएका छन् ।’ प्रत्यक्षदर्शीले भने–‘ढकतराजू समेत गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित गर्नुपर्ने निर्देशन दिइएको छ ।’ 

मन्त्री नेतृत्वको टोलीले टेकु, कालीमाटी लगायतका स्थानमा रहेका माछामासु पसलको अनुगमन गरिरहेको छ । टेकुको मासु पसल तथा बधशालाहरुमा समेत फोहोर भेटिएको बताइएको छ । 

केही दिनअघिदेखि मन्त्री नेतृत्वको टोलीले राजधानीका प्रमुख उपभोग्य वस्तु पाइने बजारहरुको नियमित अनुगमन गरिरहेको छ । पहिलो दिन सागसब्जी पसलहरुको अनुगमन गरेको टोलीले दोश्रो दिन मिठाई पसलहरुको अनुगमन गरेको थियो । पहिलो दिन सागसब्जी पसलको अनुगमनमा निस्किएका मन्त्री नेतृत्वको टोलीलाई बल्खु तरकारी पसलका व्यापारीले खबर नगरी अनुगमनमा आएको भन्दै सागसब्जीले प्रहार गरेका थिए ।