Ganesh Pun
काठमाण्डौ । मुलुकमा दण्डहीनता र कालोबजारी कुन हदसम्म रहेछ भन्ने कुरा मंगलबार देखिएको छ । राजधानीको बल्खु तरकारी बजारका व्यापारीहरुले प्रयोग गर्ने अधिकांश ढक तराजु गुणस्तर तथा नापतौला विभागले प्रमाणित नगरेको पाइएपछि संभावित कारबाहीको डरले व्यापारीहरुले बजार अनुगमनमा गएको मन्त्री नेतृत्वको टोलीमाथि नै आक्रमण गरेका छन् ।
आपूर्ति मन्त्रालयबाट मन्त्री गणेश पुनको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीमाथि आक्रमण भएपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप समेत भएको छ ।
मन्त्रीका स्वकीय सचिव अर्जुनकुमार पाठकले बिजशालालाई टेलिफोनमा दिएको जानकारी अनुसार आफूहरुलाई खबर नगरी मन्त्रीको टोली बजार अनुगमनमा आएको भन्दै आक्रोशित व्यापारीहरुले आक्रमण गरेका थिए । उनीहरुले अनुगमन गर्न समेत मन्त्री नेतृत्वको टोलीलाई अवरोध गरेका थिए । सो क्रममा सुरक्षाकर्मीले अवरोध हटाउन खोज्दा एक्कासी आक्रमण भएको र प्रहरीसँग झडप भएको पाठकले जानकारी दिए ।
‘ढकतराजू गैरकानूनी रुपमा प्रयोग भएको पाएपछि मन्त्री जीको नेतृत्वमा कारबाही गर्न लाग्दा व्यापारीहरुले तरकारी र पानीको बोतलले अनुगमन टोलीका सदस्यमाथि आक्रमण गरे ।’ प्रत्यक्षदर्शी एक सरकारी अधिकारीले भने–‘केहीबेर तनावको अवस्था सिर्जना भयो ।’
व्यापारीहरुले भने ढकतराजू नापतौल विभागबाट प्रमाणित गर्नुपर्ने कुरा आफूहरुलाई थाहा नभएको बताउँदै एकहप्ताको समय दिन माग गरेका छन् । हाल व्यापारी र मन्त्रालयको टोलीबीच छलफल भइरहेको बताइएको छ ।
यसैबीच, काठमाण्डौका अन्य तरकारी बजारहरुको समेत मन्त्री नेतृत्वको टोलीले मंगलबार बिहानैदेखि अनुगमन गरिरहेको छ । सो क्रममा अधिकांश ठाउँमा उपभोक्तामाथि चरम ठगी भएको, मूल्यमा मनपरी गरिएको र तरकारी तथा अन्य दूधजन्य उत्पादनमा चरम कालोबजारी भइरहेको पाइएको विभागका एक कर्मचारीले जानकारी दिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19