काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्।

मन्त्रिस्तरको निर्णयअनुसार महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधिएको हो। यसको जबाफ ७ दिनभित्र पेस गर्न पनि निर्देशन दिइएको छ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रुपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीतिवपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधिएको छ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुवाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएकोलगायतका विषयमा स्पष्टीकरण माग गरिएको छ। मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिनमात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको ,फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्वतयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको, पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको विषयमा मन्त्रालयले अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। 

सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेकोमा पनि अधिकारीसँग स्पष्टीकरण सोधिएको छ।