काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम अपराह्न ४ बजे राखिएको थियो। 

कम्पनीले गत साउन ९ गतेदेखि १४ गतेसम्म कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ आवेदकबाट १ करोड ६९ लाख १० हजार ९८० कित्ता सेयर माग भएको थियो। तीमध्ये १५ लाख ४६ हजार २८४ आवेदकबाट परेको १ करोड ६८ लाख ९८ हजार १८० कित्ता सेयर सदर भएको थियो। जसमा १ हजार ६६५ आवेदकबाट परेको १८ हजार ८०० कित्ता बदर भएको क्यापिटलले जनाएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी २० कित्ता ६ हजार कित्तासम्म खरिद आवेदन दिने ९ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

कुल सदर आवेदकमध्ये १४ लाख ३६ हजार ९१० आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिनेछ। सीडीएससीको https://iporesult.cdsc.com.np बाट पनि नतिजा थाहा पाउन सकिनेछ।