काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन (साउन १० गते)सम्म साढे ८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत हिजो साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ८ लाख १० हजार ९५३ आवेदकबाट ९३ लाख २४ हजार २२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.५२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत खरिद आवेदन दिन सक्नेछन्। 

मन्दाकिनी हाइड्रोपावरको आईपीओको निष्कासन बन्द साउन १२ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।