काठमाण्डौ । आर्थिक मन्दीको प्रभाव विभिन्न कम्पनीका संस्थापक सेयरधनीहरुमा समेत परेको छ । 

आर्थिक मन्दीका कारण नगद अभावको समस्याबाट गुज्रिरहेका संस्थापक सेयरधनीहरुले अनपेक्षित रुपमा उत्पन्न आर्थिक समस्या टार्नैका लागि पछिल्लो समय विभिन्न कम्पनीका संस्थापक सेयर धमाधम बिक्री गर्न थालेका छन् । 

पछिल्लो समय दैनिकजसो विभिन्न पत्रपत्रिकामा विभिन्न कम्पनीका संस्थापक सेयरधनीहरुले सस्तोमै सेयर बिक्री गर्न लागेका सूचनाहरु आउन थालेका हुन् । 

सोमबार समेत चारवटा कम्पनीका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने सूचना प्रकाशित भएको छ । 

दैनिकजसो संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीको सूचना आइरहनु र यो क्रमले तीव्रता पाउनुलाई विश्लेषकहरुले सेयरबजारमा आउने गिरावट र आर्थिक मन्दीबाट पिरोलिएकाहरुले अनपेक्षित रुपमा अगाडि आएको आर्थिक मन्दीको समस्या टार्न यसो गरिरहेका दाबी गरेका छन्। 

सोमबार प्रकाशित सूचनाअनुसार आशा लघुवित्त वित्तीय संस्था लिमीटेडका केही संस्थापक सेयरधनीले ८७ हजार १४ कित्ता संस्थापक सेयर बिक्रीका लागि भन्दै कम्पनीमा निवेदन दिएका छन् । सोही आधारमा कम्पनीले हाल कायम कुनै संस्थापक सेयरधनीले सो सेयर खरीद गर्न इच्छा भए ३५ दिनभित्र रीतपूर्वक निवेदन दिन भनेको छ । 

यस्तै, मल्टीपर्पपस फाइनान्स लिमीटेडका संस्थापक सेयरधनी धिरेन्द्र ठाकुर र विजयकुमार ठाकुरले समेत आफ्नो नाममा रहेको सेयरमध्ये क्रमशः ३० हजार र २६ हजार संस्थापक सेयर बिक्रीको इच्छा देखाउँदै कम्पनीमा आवेदन दिएका छन् । हाल सो वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुबाट आवेदन आह्वान गरिएको छ । 

सोही कम्पनीका अर्का संस्थापक सेयरधनी लिना बिष्टले पनि आर्थिक गर्जो टार्नैका लागि १ हजार कित्ता सेयर बिक्रीको इच्छा राख्दै कम्पनीमा निवेदन दिएकी छिन् । सो सेयर समेत खरीदका लागि वर्तमान संस्थापकहरुबाट आवेदन मागिएको छ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका दुई संस्थापक सेयरधनीले पनि ठूलो परिमाणमा संस्थापक सेयर बिक्री गर्न लागेका छन् । 

कम्पनीले जारी गरेको सूचनाअनुसार गोविन्द शर्माले ३१ हजार २६६ कित्ता र सरस्वती जोशीले २९ हजार ३५१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । 

सो कम्पनीका हाल कायम संस्थापकहरुले शर्मा र जोशीले बिक्री गर्न लागेको संस्थापक सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 
यदि निश्चित समयभित्र वर्तमान संस्थापकहरुले माथि उल्लिखित कम्पनीका संस्थापक सेयर खरीद गरेनन् भने दोश्रो चरणमा इच्छुक सर्वसाधारणका लागि संस्थापक सेयर खरीदको आह्वान गर्ने गरिन्छ । यस्तो सेयर खरीदका लागि पहिलो प्राथमिकता भने वर्तमान संस्थापकहरुले नै पाउँछन् ।