काठमाण्डौ । मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनी तथा आफू आधारभूत सेयरधनी रहेको कम्पनीको धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी काम गर्न नपाउने भएका छन् । 

धितोपत्र बोर्डले मर्चेन्ट बैकिङ व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको प्रष्टीकरण दिएको छ । 

‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले आफू  आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्दा र धितोपत्रको सार्वजनिक निष्काशनमा उक्त निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिनसक्ने अवस्थालाई दृष्टिगत गरी यस्तो व्यवस्था गरिएको हो ।’–धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बोर्डले नयाँ व्यवस्था कार्यान्वयनका लागि ३ बुुँदे निर्देशन दिंदै सबै मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरेको छ । बोर्डको ३ बुँदे निर्देशन जस्ताको तस्तै :

१. निष्काशन तथा विक्री प्रवन्धकले आफू  आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।
२. निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।
३. निष्काशन तथा विक्री प्रवन्धकले आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगर्ने ।