काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर तथा धितोपत्र दलालहरु)मा आवश्यक योग्यता समेत नभएका कर्मचारी कार्यरत रहेका र योग्यहरुको समेत चरम श्रम शोषण भएको भन्दै परिपत्र गरेको छ । 

मर्चेन्ट बैंक र धितोपत्र दलालहरुको कर्मचारी सेवाशर्त विनियमावली नरहेको र यसैको फाइदा उठाउँदै कानून सम्मत हिसाबले न्यूनतम तलबभत्ता समेत प्रदान नगरेको  पाइएको बोर्डको दाबी छ । 

बोर्डले कर्मचारीहरुलाई कानून सम्मत रुपमा काममा नलगाएको साथै व्यवसायलाई आवश्यक न्यूनतम योग्यता समेत हासिल नगरेका कर्मचारीहरु रहेको भन्ने गुनासाहरुका आधारमा गरिएको सुपरिवेक्षण तथा व्यवसायीहरुबाट प्राप्त विवरण समेत अध्ययन गर्दा कैफियत देखिएको भन्दै ती समस्याको निराकरणका लागि भन्दै तीन बुँदे निर्देशनसहित ४५ दिनको समयसीमा जारी गरेको छ । 

बोर्डले नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्बन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधालाई दृष्टिगत गरी प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तिय क्षेत्रको औसत किसिमको सेवा सुविधा कर्मचारीहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

यस्तै,संस्थामा कर्मचारीको रुपमा कार्यरत सबैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति/करार गर्न र कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न समेत निर्देशन दिएको छ ।  

साथै नेपाल सरकारको निर्णयानुसार २०७५ आषाढ ३२ गतेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयनगर्न बोर्डवाट अनुमतिपत्र÷दर्ता प्रमाणपत्र प्राप्त निकायहरुलाई उक्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवम् वित्तीय सुविधा बैंक खातामार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत परिपत्र गरेको छ ।