काठमाण्डौ । मर्जरका कारण लामो समयदेखि रोक्का भएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एक सूचना प्रकाशित गर्दै ती दुई बैंकका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार फुकुवाको अनुरोध गर्दै नेप्सेमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३(१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले प्रष्ट पारेको छ । 

अब यससँगै एकआपसमा मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्नेछ । 

यसैबीच, नेप्सेका एक अधिकारीले मर्जर र प्राप्ति प्रक्रियामा गएर लामो समयदेखि कारोबार रोक्का रहेका कम्पनीहरुको कारोबार फुकुवाका लागि आफूहरु बाधक नरहेको प्रष्ट पारेका छन् । उनले सम्बन्धित संगठित संस्थाले सेयर कारोबार फुकुवाका लागि आवेदन दिएको ५ देखि ७ *मिनेटभित्रमा नेप्सेबाट निर्णय हुने समेत प्रष्ट पारेका छन् ।