काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) ले २० लाख कित्ता सेयर पुस १४ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ ।

संस्थाले गत असार २३ गतेदेखि भदौ ९ गतेसम्म १ः८.६५ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । त्यसमा आवेदन नपरेको २४ लाख ८७ हजार २७८ कित्ता सेयर संस्थाले गत असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । सो लिलामी प्रक्रियामा पनि बिक्री हुन बाँकी रहेको सेयर संस्थाले पुनः लिलामीमा राख्न लागेको हो ।

संस्थाले संस्थामपक समूहको १८ लाख ५० हजार ७२१ र सर्वसाधारण समूहको १ लाख ४९ हजार ६५९ कित्ता गरी कुल २० लाख ३७८ कित्ता सेयर लिलामी प्रक्रियामा बिक्री गर्न लागेको हो ।

लिलामीमा राख्न लागिएको सेयरको न्यूनतम प्रतिकित्ता रु १०० तोकिएको छ। आवेदकले तोकिएको मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै आवेदक संस्थापक समूहको लिलामी सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण लिलामी सेयरका लागि न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन् । अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद पुस २८ गते तोकिएको छ । सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।