पाल्पा। बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताद्वारा कार्यालयमा ताला लगाएको छ ।
 
 विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रबार तालाबन्दी गरेका छन् । 
 
पटक/पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी राख्ने विद्युत् महसुल वृद्धि विरुद्ध सङ्घर्ष समिति रामपुरका अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए । 
 
कम्पनीले विद्युत् महसुल वृद्धि गरेदेखि यस क्षेत्रका उपभोक्ताले तीन महिनादेखि विद्युत् महसुल रकम बुझाएका छैनन् । चरणवद्ध आन्दोलन गर्दै आएका उपभोक्ताले विद्युत् महसुल वृद्धिको विरोध जनाउँदै आए पनि कम्पनीले कुनै चासो नदिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।