काठमाण्डौ । ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रालिसँग सम्झौता गरेको छ।

एक कार्यक्रमबीच सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनन्दन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा ओपीडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ। 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।