काठमाण्डौ । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमीटेडले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रा. लि.सँग सम्झौता गरेको छ । 

दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरे ।

यो सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । 

बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना पनि संचालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।