काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माननीय पुष्प कमल दाहाल “प्रचण्ड” समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो साँझ उनको निवास खुमलटारमा औपचारिक भेटवार्ता गरेका छन् । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले अध्यक्ष दाहालसँगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी दिए ।

अध्यक्ष गोल्छाले आर्थिक देखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताए । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताए । 

सो अवसरमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीति मार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभूति स्थानीय तहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिइयो ।  

सो अवसरमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधैं उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयाँ नेतृत्व पनि यसमा नै केन्द्रित रहेको पाउँदा आफूलाई खुशी लागेको बताए ।