काठमाण्डौ । केही दिनदेखि विभिन्न सञ्चार माध्यमहरूमा नेपाल उद्योग वाणिज्य महासंघ र अध्यक्ष भवानी राणाको नाम मुछेर भ्रामक र आधारहिन समाचारहरू प्रकाशन÷प्रशारण भईरहेको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चार माध्यमहरूले हचुवाको भरमा सही जानकारी नै नलिई एकतर्फी रुपमा अध्यक्ष र महासंघको छवि धुमिल्याउने गरी समाचार प्रकाशित गरिएकोमा त्यस्ता समाचारमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्दछौं । 

हाल कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको र नेपालमा पनि दैनिक कोभिड संक्रमण बढ्रदै गएकाले महासंघको आसन्न निर्वाचनलाई सतर्क र सुरक्षितरुपमा सम्पन्न गर्ने जिम्मेवारीसहित निर्वाचनका कार्यहरू संचालन भईरहेको साथै, निर्वाचनलाई स्वास्थ मापदण्ड पालना गर्ने विषयमा कार्यकारिणी समितिले सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको महासंघको भनाइ छ ।

नेपाल सरकारले निर्वाचन गर्न दिएको स्वीकृतिमा पनि नेपाल सरकारले तोकेको स्वाथ्य मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएकोले सोही अनुसार बाहिरी जिल्लाहरूबाट आउने निर्वाचन प्रतिनिधिहरू तथा जिल्ला तथा नगर उद्योग संघका प्रतिनिधिहरूलाई कोभिड १९ को संक्रमणबाट बचाउँदै उहाँहरुको मतदान गर्ने अधिकार सुनिश्चित गर्न महासंघले यस पटक स्वास्थ्य मापदण्ड पालना गरेको होटलमा सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन लागेकोमा सो विषयलाई अनर्गल प्रचार गरी सार्वजनिकरुपमा भ्रम फैलाईएकोमा महासंघ आपत्ति प्रकट गर्दछ ,महासंघद्वारा जारी विज्ञप्तिमा भनिएकाो छ ।

यस्तो अनर्गल प्रचार गरी महासंघ र अध्यक्ष तथा समग्र निजी क्षेत्रकै छविलाई धमिल्याउने र बदनाम गर्ने प्रयास गरिनु कदापि राम्रो होइन । त्यसैगरी महासंघले सबैको सरसल्लाह र व्यापक छलफल पश्चात गरेका निर्णयलाई आफनो स्वार्थ अनुकुल प्रचार प्रसार गरिनु दुःखद रहेको महासंघको बुझाई छ । 

विषम परिस्थितिमा हुन लागेको महासंघको आसन्न निर्वाचनलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित बनाई निर्वाचन सम्पन्न गराउन सबैको सरसहयोग आवश्यक हुने हुँदा सकारात्मक र रचनात्मक भुमिका खेलिदिनका लागि समेत महासंघले आग्रह गरेको छ ।