-भक्तराज रसाइली 
काठमाण्डौ । आजको अत्याधुनिक युगमा महिला पनि पुरुष जस्तै कुनै पनि संस्थाको नेतृत्वदायी भूमिका निर्वाहमा खरो रुपमा उत्रिन सक्छन् भन्ने एक उदाहरणीय पात्र हुन् सञ्जिला अर्याल । 

कम्पनी रजिस्टार कार्यालयमा २०६४ सालमा दर्ता गर्दै पछिल्लो संस्करणमा नेपाल धितोपत्र बोर्डबाट २०६५ सालमा अनुमति पाएको ब्रोकर नम्बर ४७ अर्थात नीभ सेक्युरिटीज प्रालिकी सीइओ सञ्जिला सेयरबजारमा थोरै महिला ब्रोकरहरुको भीडमा पृथक रुपमा चिनिन्छन् ।

२०६६ सालबाट भने ब्रोकर सेवा संचालन गरेकी उनले काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेकी छिन् । यस फिल्डमा आउनुअघि उनले बालुवाटारमा किड्स क्लब संचालनमा ल्याएकी थिइन् । काठमाण्डौ डिल्लीबजारमा जन्मेकी उनी हाल उनका पति वैभब शर्मा र २ छोराछोरीका साथमा  बानेश्वरमा बस्दै आएकी छिन् । 

नीभ सेक्युरिटीज हाल काठमाण्डौस्थित काठमाण्डौ प्लाजामा छ भने २ वर्षदेखि यसको शाखा कार्यालय सुनसरीको ईटहरी १ मा संचालनमा छ । 

हाल कम्पनीको चुक्तापूँजी २ करोड रहेकोमा निकट समयमै ५ करोड बनाउन पहल भइरहेको डीसीईओ आनन्दकुमार भट्टराईले बताएका छन् । 

काठमाण्डौमा १३ जना र ईटहरीमा ५ जना कर्मचारीले रोजगारी पाएका यो ब्रोकर हाउसले हालसालै सिमरा र वीरगञ्जमा समेत शाखा विस्तारका लागि बोर्डसमक्ष आवेदन दिएको छ । नीभले आफ्नै छुट्टै डीपी सेवा नदिए पनि १० जना ब्रोकरहरु मिली खोलिएको नेपाल डीपी लिमिटेडमा उसको आबद्धता छ ।

व्यवसायिक रुपमा सञ्चालन भएको दाबी गर्ने सीइओ अर्यालले सानाठूला सबै सेयर लगानीकर्ताहरुलाई समान व्यवहार र प्राथमिकता दिईएको बिजशालासँग बताइन् ।

सेयर बजारबारे सुसूचित गर्ने, सेयर सचेतना गर्ने जस्ता कार्यक्रम संचालित नीभमा हिजोआज दैनिक औसत ५० जना लगानीकर्ता आउने गरेका उनले सुनाइन् । नीभमा सक्रिय कारोबारी खाता व्यक्तिगत ३ हजार ३ सय र संस्थागत तर्फ २० वटा कम्पनी रहेको सीइओ अर्यालको दाबी छ । 

आफूले हाकेको ब्रोकर हाउसलाई कारोबारका आधारमा टप २५ भित्र रहेको अर्यालको भनाई छ । 

नीभको व्यवस्थापन, राम्रो व्यवहार गर्ने कर्मचारी र विश्वसनीय कारोबार बलियो पक्ष हो । 

उनकामा आउने लगानीकर्ताहरुलाई चियापान र कहिलेकाही खाजाको व्यवस्था रहेको त्यहीँ आउने एक लगानीकर्ताले बताए । उनको ब्रोकर हाउसमा ट्रेडिङ फ्लोरमा मार्केट डेप्थ सेवाग्राहीले सहजै हेर्न मिल्ने गरी राखिएको समेत छ । 

आफ्नो इच्छा र बिजिनेस गर्ने आकांक्षाका कारण ब्रोकर पेशा रोजेको बताउने अर्यालले आफ्नो कम्पनीमा आउने सबै वर्गका लगानीकर्तालाई समान र आदरपूर्ण व्यवहार गर्नुका साथै लगानीकर्तालाइ बेलाबेलामा सुसूचित पनि गराउने गरेको बताउँछिन् ।

लगानीकर्ताहरु ब्रोकर नम्बर ४७ नै किन आउने ? भन्ने बिजशालाको जिज्ञासामा अर्याल भन्छिन्–‘हामीले सबै ब्रोकरले झै सेयर खरिदबिक्री नै गर्ने हो, यद्यपि हामी लगानीकर्ताका सेवासुविधामा विशेष चनाखो हुन्छौ र सुविधा बढाउन हरपल प्रयत्नशील पनि रहन्छौ । हामीकहाँ प्रत्येक बिहीबार पावरप्वाईन्टबाट सेयर सचेतना कक्षामा समग्र सेयर बजारबारे नयाँ नयाँ लगानीकर्ताहरुलाई सुसूचित बनाउने गरेका छौं । केही इस्यू आए धैर्यसाथ ह्याण्डल समेत गर्ने गरेका छौं ।’ 

सम्भवत आगामी  चैतदेखि प्रत्येक दिन कारोबार समयमा सेयर कक्षा सञ्चालन गर्ने र नेप्सेमा सूचीकृत कम्पनीहरुको सूक्ष्म विश्लेषण रिपोर्ट लगानीकर्ताहरुलाई उपलब्ध गराउने गरी नयाँ प्रयोग गर्ने योजना रहेको उनले बताइन् ।

ब्रोकर शाखा कार्यालयको पूर्वाधारको क्राइटएरियाको पुनरावलोकनमा नियामक लचक हुनुपर्ने र जतिसक्दो चाँडो शाखा विस्तारमा सकारात्मक बनिदिन अर्यालले आग्रह गरेकी छिन् ।

मुलुकमा पूँजीबजारको अथाह सम्भावना रहेको उल्लेख गर्दै अर्याल भन्छिन्–‘पूँजी सिर्जना गर्ने सशक्त माध्यम पूँजीबजार नै हो र राज्यले सुसूचित गराउने खालको भूमिका खेल्नुपर्दछ । अतिरिक्त आम्दानी गर्ने स्रोत रहेको पूँजीबजार, जहाँ स–सानो रकम सहजै लगानी गर्ने प्लेटफर्म  समेत रहन्छ ।’

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २० करोड कारोबार गरेको नीभ सेक्युरिटीजलाई प्राविधिक त्रुटिका कारण रिपोर्ट धितोपत्र बोर्डमा ढिला बुझाएको बाहेक अन्य कुनै पनि परिस्थितिमा कुनै कारबाही गरिएको छैन । 

विस्तारित पूँजीबजार बनाउन सम्बद्ध सबै पक्षको हातेमालो र अनलाईन कारोबारमा लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न ट्ड्कारो आवश्यकता रहेको बताउने अर्यालले अगाडि थपिन्–‘सूचीकृत कम्पनीहरुको विस्तृत सूचना तथा जानकारी एकीकृत रुपमा सम्पूर्ण लगानीकर्तालाई नियामक नेप्से र सेबोनले उपलब्ध गराउनु पर्दछ । दुर्गम क्षेत्रमा शाखा विस्तार र सचेतना अनि गैरआवासीय नेपालीलाई बजार प्रवेशका लागि आकर्षित गर्न ढिलाई पनि गर्नुहुन्न।’

पूँजी बजारका लागि नेपाल भर्जीन मार्केट भएको र खाडी मुलुकमा समेत रहेका नेपालीहरुलाई अनलाइन ट्रेडिङ मार्फत बजार प्रवेश गराउन सकेको खण्डमा सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने र अहिलेजस्तो रेमिट्यान्स उपभोगमा मात्रै खर्च नभई पूँजीबजारको व्यापक बिस्तार समेत संभव हुने बताइन् ।

उनले कुराकानीको क्रममा मिडिया र नियामकलाई बजारका विषयमा अत्यन्तै संबेदनशील बन्न सुझाव दिइन । 

धेरथोर बचत रकम सेयर बजारमा दीर्घकालीन लगानी गर्दै धैर्यशील बन्न उनले आम लगानीकर्तालाई आग्रह समेत गरेकी छिन् । 

लगानीकर्ताको नजरमा नीभ सेक्युरिटीज 
पिनाकीराज दाहाल(६५ वर्ष)सेवानिवृत्त बैंकर-बसुन्धरा
-नीभमा विगत २ वर्षदेखि कारोबार गर्दैछु । यहाँको सेवा निकै राम्रो रहेको मैले पाएको छु । सञ्जिला अर्यालजी त आँखामा राख्दा समेत नबिझाउने खालको मलाइ लाग्छ । उहाँ बिजनेसमा निपुण हुनुहुन्छ । ब्रोकर सेवाको क्वालिटी अपग्रेड गर्दै जान सुझाउँछु । अरु कर्मचारीबाट हल्का मुस्कानसहितको सेवा अपेक्षा राख्दछु । 

पूर्णसुन्दर श्रेष्ठ(६३ वर्ष) एनएसी पूर्व कर्मचारी-सिनामंगल
-मेरो पनि लगभग माथिकै जस्तै जवाफ हो । सन्तुष्ट भएर नै यति टाढा आउँदछु । विगत ४ वर्षदेखि राम्रो सुविधा पाएकोले म यो ब्रोकर नै धाइरहेको हुँ ।

दीपेन्द्र धमला(३१ वर्ष)-लगानीकर्ता-बालाजु
-३–४ वर्षदेखि म नीभबाट कारोबार गरिरहेको छु । समग्रमा राम्रै सुविधा पाएकाले मैले अन्य ठाउँमा कारोबार खाता खोलेको छैन । ब्रोकरहरुको तुलानात्मक सुविधा बढाउन सल्लाह दिन चाहन्छु ।