काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्नेछन्। 

आईपीओ निष्कासन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गते बैंकिङ समयपछि हुनेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ। यो आईपीओ बिक्रीपछि चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ। 

यो लघुवित्तको मुख्य कार्यालय काभ्रेमा रहेको छ भने काठमाण्डौ उपत्यकाभित्र १० र बाहिरका विभिन्न जिल्लामा १० गरी २० शाखा कार्यालय रहेका छन्। 

यो लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो ।