– अनन्त्य सुन्दर

काठमाण्डौ । देशभर आज महिलाहरु हरितालिका तीज मनाउँदैछन्। आज सरकारले तीजको उपलक्ष्यमा महिला कर्मचारीलाई बिदासमेत दिएको छ। 

महिलाहरुले यस महान् चाडमा विभिन्न ठाउँमा भेला भएर नाचगान गरी दर खाने र मनोरञ्जन गर्ने चलन छ। तर कोरोना कहरले गर्दा स्वास्थ्यको ख्याल गर्दै यसपटक अधिकांश महिलाको घरमा नै बसेर तीज मनाउने योजना रहेको छ।

विवाहित महिलाले श्रीमान साथै परिवारका सदस्यको दीर्घायुका लागि र अविवाहितहरुले राम्रो श्रीमान् पाइन्छ भनी तीजमा व्रत बस्ने परम्परा छ। आज महिलाहरु माइत जानुका साथै मन्दिरमा पूजापाठ गर्ने चलन छ। 

नेपालको सेयर बजारमा अहिले महिलाहरु पनि सक्रिय छन्।यस लेखमा सेयर बजारमा लगानी गरिरहेका सक्रिय महिला लगानीकर्ताले आज तीज कसरी मनाउँदै हुनुहुन्छ? तीज अनुभव साथै महिलाहरुका लागि सुझाव समेटिएको छ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी केन्द्रीय अध्यक्ष तथा बजारकी सक्रिय लगानीकर्ता राधा पोख्रेलका अनुसार नेपाली समाजमा अहिले तीज संस्कृति भन्दा पनि विकृतिका रुपमा फैलिएको छ। पोख्रेल भन्छिन्, ‘नेपाली समाजमा अहिले महिनौँदेखि तीज मनाउने चलन छ। त्यसैले तिजको नाममा महिलाहरुले अनावश्यक खर्च गर्छन्। उक्त पैसा बचत गरी सेयर बजारमा लगानी गर्दा आर्थिक लाभ लिन सकिन्छ।’ तीजमा श्रीमानको दीर्घायुभन्दा पनि स्वास्थ्यका लागि व्रत बस्ने पोख्रेलको आज घरमा नै दर खाने र मनोरञ्जन गर्ने योजना छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव तथा बजारकी सक्रिय लगानीकर्ता दुर्गा तिवारीका अनुसार विगतमा सेयर बजारका सक्रिय लगानीकर्ताहरु ब्रोकर अफिसमा भेला भएर दर खाने र तीज मनाउने चलन थियो। तर यसपटक कोरोना महामारीले गर्दा त्यो सम्भव नभएकाले घरमै बसेर उनको तीज मनाउने योजना भएको बताउँछिन्। तिवारी भन्छिन्, ‘तीज हामी महिलाहरुको महान चाड भएकाले स्वस्थको सतर्कता अपनाएर मनाउनु पर्छ। तर नेपाली समाजमा तिजमा अनावश्यक खर्च गर्ने चलन बढेको छ। त्यसैले महिलाहरुले उक्त खर्च कटौती गरी सेयरमा लगानी गर्नु पर्छ।’ 

पुँजी बजार संघकी केन्द्रीय अध्यक्ष तथा बजारकी सक्रिय लगानीकर्ता संरक्षणा चौधरीका अनुसार महिलाहरुले तीजमा सारी साथै गरगहनाको नाममा धेरै फजुल खर्च गर्ने चलन छ। चौधरी भन्छिन्, ‘महिलाहरुको बचत गर्ने क्षमता धेरै हुन्छ। त्यसैले गृहिणी साथै अन्य महिलाहरुले पनि आईपीओमा मात्र भए पनि लगानी गर्नुपर्छ।’ नेपाली समाजमा तिजको अवसरमा महिनौँदेखि पार्टी प्यालेस बुक गरेर खर्च गर्ने चलन छ। ‘तर तिजमा धेरै खर्च नगरी राम्रो लाभांश दिने कम्पनीहरु छनौट गरी लगानी गर्दा भविष्य सुनौलो छ’, चौधरी भन्छिन्, ‘अधिकांश बैंकहरुको अहिले पनि मूल्य कम नै छ। त्यसैले यसपटकको तीजमा खर्च कटौती गरी राम्रा बैंकहरुमा लगानी गर्दा राम्रो मुनाफा कमाउन सकिन्छ।’

सेयर बजारमा सक्रिय लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदी आज श्रीमान एवम परिवारका सदस्यको दीर्घायुका लागि व्रत बसेको बताउँछिन्। सुवेदी भन्छिन्, ‘विगतमा तीजमा महिला दिदीबहिनीहरु भेला भएर नाचगान गर्ने चलन थियो। तर यसपालि कोरोनाले गर्दा घरमा नै बसेर मनाउने सोचेको छु।’ 

आज सेयर बजार पनि खुला छ। ‘तीजमा सेयर बजार नहेरौँ मनोरञ्जन गरौँभन्दा मनले मान्दैन, त्यसैले ११ देखि ३ बजेसम्म त बजार पनि हेर्ने पर्यो’, सुवेदी भन्छिन्, ‘हामी महिलाहरुको बचत गर्ने बानी हुन्छ। अहिले सेयर बजारमा लगानी गर्न धेरै नै सहज छ। त्यसैले तीजको निउमा अनावश्यक खर्च नगरी बचत गरेको पैसा राम्रा कम्पनी छनौट गरी लगानी गर्दा भविष्यमा राम्रो मुनाफा कमाउन सकिन्छ।’

अहिले टीएमएस र अनलाइन प्रणालीले गर्दा महिलाहरुले घरमा बसी–बसी सजिलै सेयरमा लगानी गर्न सकिने तिवारीले बताइन्। विगतमा तीजका अवसरमा माइत र मन्दिर जाने तिवारीको यसपालि घरमै व्रत बसी तीज मनाउने योजना छ।