काठमाण्डौ । नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ। 

जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका २०० महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो। मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्था लिमिटेडको समन्वयमा ती महिला किसानलाई जनही २५ किलोग्राम अर्गानिक कम्पोस्ट वितरण गरेको हो। कम्पोष्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका पनि सिकाइएको थियो। 

कम्पोष्ट मल वितरण गर्दै महिला नेतृत्व मञ्चकी अध्यक्ष छाया शर्माले माटोलाई जोगाउन अति नै आवश्यक रहेको बताइन्। किसानका लागि हरेक दिन बातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायी मुखी बनाउनुपर्नेमा पनि उनले जोड दिइन्। वातावरण स्वच्छ नभएसम्म मानिसहरु पनि स्वस्थ रहन नसक्ने भन्दै उनले बातावरण स्वच्छ राख्न पनि सबैको भूमिका महत्वपूर्ण हुने बताइन्। 

कार्यक्रममा डा. आनन्द शोभा ताम्राकारले महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका बारे जानकारी गराइन्। सोही कार्यक्रममा नेपाल बंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसान क्रेडिट कार्ड पनि उपलब्ध गराइएको थियो।

कार्यक्रममा महिला नेतृत्व फोरमका सदस्यहरु सुनिता न्हेमाफुकी, मञ्जु शर्मा, कल्पना श्रेष्ठ, नेपाल बंगलादेश बैंकका उपमहाप्रबन्धकसहितका प्रतिनिधि सहभागी थिए। 

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘वन्ली वान अर्थ’ रहेको छ।