काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ। 

उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो। पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो। छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिए। चेम्बरले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उनले बताए। 

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्प सुरु भइसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे। ‘महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्नेछ’, उनले भने, ‘महिला दिदीबहिनीले उत्पादन गरेका वस्तुहरु उत्पादनस्थलदेखि बजारीकरणसम्म चेम्बरले साथ दिन्छ। कृषिजन्य वस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ। यसका लागि चेम्बरले सहयोग गर्छ।’

आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्नसमेत उल्लेख्य योगदान रहेको बताए। उनले अपांगता भएका महिलालाई उद्यमशीलता विकासको तालिममा सहभागी गराउनुपर्ने धारणा राखे। 

चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन्। व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ। महिलाहरुलाई बजारको मागअनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन्। 

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तीमा १५ दिनको तालिम दिइने बताइन्। महिलाको आर्थिक सशक्तीकरण गर्नका लागि विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले जानकारी दिइन्।