काठमाण्डौ । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ। 

सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो। करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए। 

तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन्। चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन्। 

सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्न गरिएको बताए। 

महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यसअघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ। 
नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन्।