काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ। 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो। तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे। सूचना प्रविधिको विकास तीव्रगतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको अध्यक्ष मल्लको भनाइ छ। विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए। 

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटीसमेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायतका बिषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन्। 

लर्ड बुद्ध फाउन्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वद्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए। अनलाइन एपको विकाससँगै लेखासम्बन्धी तालिमसमेत दिइने उनको भनाइ छ। 

तालिमसम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताए।