काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन्। 

दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब कसैले रोक्न नसक्ने बताएका हुन्। ‘सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो’, उनले भने, ‘महत्वपूर्ण सुरुआत भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ।’

नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेसिने गरेको मन्त्री महतले बताए। ‘महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्’, उनले भने। ‘ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ। यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्छ।’

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले घर–घरमा उत्पादन भएका विभिन्न सामग्रीहरु व्यवसायीले निर्यात गरिरहेको बताए। ‘आईटी सेक्टर पनि जोडिन थालेको छ’, उनले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ। डिटिजल संसारले एउटा अवसर पनि दिएको छ। बजारीकरण सहजै रुपमा गर्न सकिन्छ। महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ।’

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनुपर्ने महतको भनाइ थियो। ‘यसमा सरकारले भरपूर सहयोग गर्छ’, उनले भने, ‘दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्छ।’