काठमाण्डौ । माई खोला हाइड्रोपावरले आज फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयर जारी गरिनेछ। 

कम्पनीले सर्वसाधारणका लागि जारी गरिने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। 

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। दुवै समूहले यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, स्थानीयको हकमा भने मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री अवधि चैत २४ गतेसम्म लम्बिन सक्छ। 

स्थानीयले यो आईपीओमा प्रभु बैंक, सेन्चुरी बैंक र प्राइम कमर्सिल बैंकका इलाम शाखाहरुबाट आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय र क्यापिटलले ल्याएको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सकिनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।