काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा बिहान ९ः३० बजे राखिएको थियो। 

कम्पनीले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १३ लाख ६३ हजार २६६ जनाले कुल १ करोड ५१ लाख ६५ हजार ८३० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये ८८ हजार १६१ आवेदकबाट परेको १४ लाख ४५ हजार १० कित्ता रद्द गरिएको क्यापिटलले जनाएको छ। 

यो आईपीओमा १२ लाख ७५ हजार १०५ आवेदकबाट परेको १ करोड ३७ लाख २० हजार ८२० कित्ता सेयरमात्रै प्रमाणीकरण गरिएको थियो। त्यसमा १२ लाख ६७ हजार २८५ आवेदकबाट परेको १ करोड ३६ लाख ११ हजार ३०० कित्तामात्रै सदर भएको छ भने प्रमाणीकरण गरिएका ७ हजार ८२० आवेदकबाट परेको १ लाख ९ हजार ५२० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।