काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेको आईपीओ आज आइतबार बिहानसम्म ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत वैशाख ८ गतेदेखि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।

सीडीएससीका अनुसार यो आईपीओमा आज बिहानसम्म ५ लाख ८५ हजार ७२२ आवेदकबाट ६७ लाख १० हजार २० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.२८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट अब भाग्यमानी १ लाख २६ हजार ९४१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये एकजनाले थप १ कित्ता सेयर पाउनेछन्।

यो आईपीओको निष्कासन बन्द वैशाख १२ गते बैंकिङ समयपछि हुनेछ। इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

यो कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ। 

यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७५ फागुन ५ गतेदेखि २११० फागुन ४ गतेसम्म गरी कुल ३० वर्ष ६ महिना बाँकी रहेको छ। 

आयोजनाको लगानी फिर्ता हुने अवधि सिम्पल पेब्याक पिरियड १०.०१ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.७४ वर्ष रहेको छ। यो आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।